काठमाडौँ। आर्टिफिसियल इन्टेलिजेन्स (एआई) एजेन्टहरू कर्मचारीलाई सहयोग गर्ने प्रणालीबाट स्वायत्त रूपमा निर्णय र काम गर्ने अवस्थामा अघि बढिरहेका बेला तिनलाई बैंकका उच्च पहुँच भएका प्रयोगकर्ताजस्तै कडा निगरानी र नियन्त्रणमा राख्नुपर्नेमा जोड दिइएको छ।
सिंगापुरको मौद्रिक प्राधिकरण (MAS) ले गत जुलाईमा सार्वजनिक गरेको Safeguards for Agentic Finance at Runtime (SAFR) ले वित्तीय क्षेत्रमा स्वायत्त एआई एजेन्टको प्रयोगसँग जोडिएका जोखिम व्यवस्थापनका लागि यस्तो दृष्टिकोण अघि सारेको हो।
बैंक तथा फिनटेक कम्पनीहरूसँगको सहकार्यमा BuildFin.ai पहलअन्तर्गत तयार गरिएको SAFR ले एआई एजेन्टलाई सामान्य सफ्टवेयर प्रणालीका रूपमा मात्र हेर्न नहुने संकेत गरेको छ। एआई एजेन्टहरू भुक्तानी, कर्जा स्वीकृति, ठगी व्यवस्थापन तथा ग्राहक सेवाजस्ता क्षेत्रमा स्वायत्त रूपमा काम गर्न थालेसँगै तिनले गर्ने निर्णय र कारोबारमा थप बलियो नियन्त्रण आवश्यक हुने देखिएको छ।
वित्तीय संस्थाहरूलाई एआई एजेन्टले कुनै महत्वपूर्ण काम गर्नुअघि त्यसले गर्न लागेको कार्य पहिले नै प्रमाणीकरण र अभिलेखीकरण गर्न आग्रह गरेको छ। यसअन्तर्गत एजेन्टले भुक्तानी सुरु गर्न, कर्जा स्वीकृत गर्न, कारोबार सञ्चालन गर्न वा नियामकसमक्ष प्रतिवेदन पेश गर्नुअघि उसको प्रस्तावित कार्यको जाँच गरिनुपर्नेछ।
एआई एजेन्टको प्रयोग तीव्र रूपमा विस्तार भइरहेका बेला एसएएफआरले वित्तीय संस्थाहरूलाई स्वायत्त एआईको गति र क्षमतासँगै त्यसको जोखिम नियन्त्रण, उत्तरदायित्व र निगरानीलाई पनि समान रूपमा प्राथमिकता दिनुपर्ने सन्देश दिएको छ।

