काठमाडौँ। सिटिजन्स बैंकले आफ्नो आठौं विशेष साधारणसभा आह्वान गरेको छ। बैंक सञ्चालक समितिको बैठकले आउँदो असार ३ गते साधारणसभा आयोजना गर्ने निर्णय गरेको हो।
सभा काठमाडौंको दरबारमार्गस्थित बैंकको मुख्य कार्यालयमा बिहान ९ बजेदेखि विद्युतीय माध्यम (जुम) र भौतिक रुपमा एकसाथ सुरु हुनेछ। सभाले १०० रुपैयाँ अंकित दरका २ अर्ब रुपैयाँबराबरको ‘सिटिजन्स अविमोच्य, असञ्चिति अग्राधिकार सेयर’ जारी गर्ने विशेष प्रस्ताव पारित गर्नेछ।
त्यस्तै, उक्त अग्राधिकार सेयरको वार्षिक लाभांशदर ७.५ प्रतिशत रहेको छ। सभाले अग्राधिकार सेयर जारी गर्न प्रबन्धपत्रको सम्बन्धित दफाहरुमा संशोधन गर्ने विशेष प्रस्ताव पनि अनुमोदन गर्नेछ।
अग्राधिकार सेयर जारी गर्न नियमनकारी निकायहरुबाट प्रस्ताव रायसुझावअनुसार प्रबन्धपत्र र नियमावलीमा संशोधन गर्नका लागि सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने प्रस्ताव सभाले पारित गर्नेछ।
सभाले सञ्चालक समितिमा संस्थापक समूहबाट १ जना र सर्वसाधारण समूहबाट २ जना सञ्चालकको निर्वाचन प्रक्रिया पनि कार्यान्वयन गर्नेछ।
विशेष साधारणसभा प्रयोजनका लागि बैंकले जेठ २६ गते बुक क्लोज गर्ने निर्णय गरेको छ।


