DISH HOME

मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षा सार्वजनिक (पूर्णपाठ)

काठमाडौँ। मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षा सार्वजनिक भएको छ। नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्वनाथ पौडेलले चालु आर्थिक वर्ष २०८२-८३ को मौद्रिक नीतिको पहिलो त्रैमासिक समिक्षा सार्वजनिक गरेका हुन्।

बैंक तथा वित्तीय संस्थाले रियलस्टेट व्यवसाय तथा जाजरकोट, रुकुमलगायतका भूकम्प प्रभावित क्षेत्रमा प्रवाहित कर्जा पुनरसंरचना-पुनरतालिकीकरण गर्न सक्ने व्यवस्था मिलाइएको छ । उर्जा उत्पादन क्षेत्रमा प्रवाह भएका कर्जाको ब्याज पुँजीकरण हुने व्यवस्था मिलाइएको छ । बैंक तथा वित्तीय संस्थाहरूको नन्डेलिभरेबल फरवार्डको सीमा वृद्धि गरिएको छ ।

बैंक तथा वित्तीय संस्थाले आन्दोलनको क्षतिबाट प्रभावित ऋणीलाई २०८२ पुस मसान्तसम्मका लागि कर्जा पुनरसंरचना-पुनरतालिकीकरण गर्न सक्ने व्यवस्था गरिएको छ । साथै, ऋणी संस्थासँग Forward-Backward Linkage भएका ऋणीलाई प्रवाहित कर्जामा समेत न्यूनतम ५.० प्रतिशत ब्याज असुल गरी पुनरतालिकीकरण-पुनरसंरचना गर्न सकिने व्यवस्था मिलाइएको छ । आन्दोलनबाट प्रभावित सवारी तथा ढुवानी साधन प्रतिस्थापन गर्ने ऋणमा ऋण-मूल्य अनुपात ८० प्रतिशतसम्म कायम गर्न सकिनेव्यवस्था गरिएको छ ।

यता वार्षिक विन्दुगत आधारमा २०८२ असोज मसान्तमा विस्तृत मुद्राप्रदाय १२.२ प्रतिशतले वृद्धि भएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो मुद्राप्रदाय १३.३ प्रतिशतले वृद्धि भएको थियो। समीक्षा अवधिमा बैंक तथा वित्तीय संस्थाहरूबाट निजी क्षेत्रमा प्रवाहित कर्जा १.५ प्रतिशतले वृद्धि भई रु.५५८० अर्ब ६४ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो कर्जा प्रवाह २.५ प्रतिशतले बढेको थियो।

समीक्षा अवधिमा बैंक तथा वित्तीय संस्थाहरूको निक्षेप परिचालन ३.० प्रतिशतले वृद्धि भई रु.७४८२ अर्ब ५९ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा निक्षेप परिचालन २.६ प्रतिशतले बढेको थियो। आर्थिक वर्ष २०८२-८३ को पहिलो त्रयमासमा निक्षेप सङ्कलन बोलकबोलमार्फत रु.७१४ अर्ब ६५ करोड र स्थायी निक्षेप सुविधामार्फत रु.१२३६१ अर्ब ३० करोड गरी खुला बजार कारोबारबाट कुल रु.१३०७५ अर्ब ९५ करोड (कारोबारमा आधारित) प्रशोचन गरिएको छ । अघिल्लो वर्षको सोही अवधिमा खुला बजार कारोबारबाट कुल रु.७८३३ अर्ब ४० करोड प्रशोचन गरिएको थियो।

समीक्षा अवधिमा यस बैंकबाट विदेशी मुद्रा खरिदमार्फत रु.२६२ अर्ब १४ करोड तरलता खुद प्रवाह भएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो कारोबारबाट रु.१९६ अर्ब ७९ करोड तरलता खुद प्रवाह भएको थियो ।

चालु आर्थिक वर्षको मौद्रिक नीति र पहिलो त्रैमासिक समीक्षामा गरिएका व्यवस्थाबाट मूल्य, बाह्य क्षेत्र र वित्तीय क्षेत्र स्थायित्व कायम हुँदैआर्थिक क्रियाकलाप विस्तारमा सहयोग पुग्ने अपेक्षा राष्ट्र बैंकले गरेको छ।

1st-Quarter-Review

HIMALAYAN LIFE
Shangrila Dev Bank

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै