काठमाडौँ । कुनै बेला निकै राम्रो ब्रान्ड इमेज बनाउन सफल नबिल बैंकको सेवा निरन्तर खस्किन थालेको छ । मोबाइल बैंकिङमा देखिने पटक–पटकको समस्या तथा फिजिकल रूपमा बैंकमै गएर लिने सेवामा समेत गुणस्तर खस्किएको गुनासो बढ्न थालेको हो । बैंकको रेस्पोन्स टिमले अपेक्षाकृत रूपमा काम नगर्दा बैंकको गुणस्तरमाथि चौतर्फी प्रश्न उठेको छ ।
एनबैंकमा समस्या नै समस्या
अहिले नबिल बैंकको एनबैंकमा देखिएको समस्याले सामाजिक सञ्जाल तताएको छ । ग्राहकहरू पटक–पटक नबिलको अनलाइन बैंकिङले हैरान पारिरहेको भन्दै सामाजिक सञ्जालमा रुष्ट बनेका छन् । स्वयं बैंकले पनि एनबैंकको मोबाइल एप र वेब दुवै प्लेटफर्ममा लगइन नहुने, लगइन गर्न समय लाग्ने तथा कारोबार गर्दा लोडिङ समय बढी हुने समस्या देखिएको स्वीकार गरेको छ । एक–दुई पटक होइन, पटक–पटक यस्ता समस्या दोहोरिने गरेको छ । बैंकले आफ्ना सेवामा समस्या आएपछि पटक–पटक सेवाग्राहीसँग माफी माग्दै आएको छ । तर, माफी मागेको केही दिनमै फेरि समस्या आउँदा ग्राहकहरू मर्कामा परिरहेका छन् ।
ऋणी पनि वाक्क !
केही समयअघि अजय चौरासिया नामक व्यक्तिले नबिल बैंकले ऋणीमाथि हदैसम्म अन्याय गरेको भन्दै सामाजिक सञ्जालमा पोष्ट गरेका थिए । त्यसबेला बैंकले आफ्नो गल्ती स्वीकार पनि गरेको थियो । सुरुमा इग्नोर गरे पनि बैंकको बदमासीबारे चौतर्फी आलोचना भएपछि ऋणीको कुरा सुनेको थियो । अन्ततः बैंकले गल्ती स्वीकार्दै ऋणीलाई दिनुपर्ने सेवा दिएको थियो । यो त एउटा उदाहरण मात्र हो । पछिल्लो समय ऋणीहरू व्यवसायका लागि लिएको ऋण पूरै नपाएको, ऋण नपाउँदा व्यवसाय सञ्चालनमा समस्या भएर किस्ता नउठ्दा बैंकले उल्टै दबाब दिने गरेको गुनासो सार्वजनिक गरेका छन् । कुनै बेला ऋणीमाझ राम्रो छवि बनाएको नबिल बैंकका ऋणीहरू अहिले वाक्क भइसकेका छन्, जसले बैंकको गुणस्तरमाथि प्रश्न थप बढाएको छ ।
कर्मचारीको रेडिमेड जवाफ — ‘सिस्टम नै यस्तै छ’
आफ्नो मर्का लिएर बैंक पुग्ने अधिकांश ग्राहकलाई बैंकका कर्मचारीहरूले मुस्कुराउँदै ‘सिस्टम नै यस्तै छ’ भनेर जवाफ दिने गरेको गुनासो छ । मोबाइल बैंकिङ नचल्ने, ऋणमा भनिएको रकम नपाउने, सेवा गुणस्तरहीन हुने जस्ता समस्या लिएर बैंक जाँदा समेत कर्मचारीहरूको जवाफ यही हुने गरेको भन्दै चौतर्फी आलोचना भएको छ । गुणस्तरीय सेवा छ भनेर खाता खोलेका ग्राहकहरूले अपेक्षित रेस्पोन्स नपाएको र आफ्ना समस्या समाधान नभएको गुनासो बढ्दो छ ।
यता नबिल बैंक भने गुणस्तरीय सेवा दिन आफूहरू निरन्तर प्रयासरत रहेको बताउँछ । बैंकका सूचना अधिकारी सुरेश त्रिपाठीले बैंक गुणस्तरयुक्त सेवा दिन प्रतिबद्ध रहेको दाबी गर्छन् । तर, बैंकका ग्राहकहरू भने दिनहुँ नयाँ समस्या भोगिरहेका छन् ।
नबिल बैंकले जबर्जस्ती ऋणीको सम्पत्ति लिलाम गरेको भन्दै ऋणी एसोसिएसनले पनि विरोध गर्दै आएको छ । केही समयअघि एक वडा अध्यक्षले नबिल बैंकले घरबाटोको सिफारिस लिन आउँदा अस्वीकार गरेको समाचार पनि सार्वजनिक भएको थियो ।