prabhu

‘पैसा थन्क्याएर होइन, लगानी गरेर अर्थतन्त्र चल्छ’ : पूर्व निर्देशक

काठमाडौं । बैंकिङ प्रणालीमा तरलता अत्यधिक बढेपछि नेपाल राष्ट्र बैंकले दैनिक रूपमा ठूलो परिमाणमा रकम संकलन गर्दै आएको छ। बुधबार मात्रै राष्ट्र बैंकले ६० अर्ब रुपैयाँ प्रणालीबाट खिचेको छ। त्यसअघि असार १ गते ४० अर्ब, असार ४ गते ९० अर्ब, असार ८ गते ६० अर्ब, असार ११ गते ५० अर्ब र असार १५ गते ३० अर्ब रुपैयाँ राष्ट्र बैंकले तरलता व्यवस्थापनका लागि संकलन गरिसकेको छ।

यस्तो अवस्थामा नेपाल राष्ट्र बैंकका पूर्वकार्यकारी निर्देशक नरबहादुर थापाले बैंकहरू राष्ट्र बैंकमा पैसा राखेर बस्न थालेको प्रवृत्तिलाई दीर्घकालीन रूपमा अर्थतन्त्रका लागि हानिकारक बताएका छन्।

उनका अनुसार अहिले बैंकहरू राष्ट्र बैंकले ३ प्रतिशत ब्याजमा निक्षेप संकलन गरिरहेको मौकामा ढुक्क भएर पैसा राखिरहेका छन्। ‘तर राष्ट्र बैंकमा पैसा थन्क्याउनु भनेको घाटा गर्नु हो,’ थापाले भने, ‘बाहिरी लगानीले मात्र बैंकलाई लाभ दिन्छ र अर्थतन्त्र चलायमान बन्छ।’

थापाका अनुसार अहिलेको समय लगानी विस्तार गर्ने उपयुक्त अवसर हो। तर त्यो बैंकहरूको प्रयास मात्रले सम्भव नहुने भन्दै उनले सरकारलाई पनि कर्जाको माग वृद्धि गर्ने गरी आवश्यक समन्वय र नीतिगत सहयोग गर्न सुझाव दिएका छन्।

‘लगानी विस्तार भएको भए रोजगारी सृजना हुन्थ्यो, उत्पादन बढ्थ्यो, र आर्थिक वृद्धिदर उकालो लाग्थ्यो,’ थापाले भने, ‘त्यो राजस्व वृद्धिसँगै सरकारलाई पनि आर्थिक रूपमा मजबुत बनाउने बाटो हुने थियो।’

यसैबीच, नेपाल राष्ट्र बैंकले हाल कर्जाको माग किन सुस्त भइरहेको छ भन्ने विषयमा अध्ययन थालेको छ। बैंकिङ क्षेत्र सुधार सुझाव कार्यदलमार्फत राष्ट्र बैंकले कारण पहिचान गरी समाधानका उपाय खोज्न लागेको अधिकारीहरूले जानकारी दिएका छन्।

Shangrila Dev Bank
Citizen Life Insurance
Himalayan life insurance

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै