नेपाल लाइफका अभिकर्तामाथि ‘ज्यादती’ : सम्मान कार्यक्रममा पक्राउ परेपछि संघ आक्रोशित !

काठमाडौँ। नेपाल राष्ट्रिय बीमा अभिकर्ता संघले आपत्ति जनाएको छ। संघले नेपाल लाइफ इन्स्योरेन्समा कार्यरत अभिकर्तामाथि कम्पनीले दुर्व्यवहार गरेको आरोप लगाउँदै कडा आपत्ति जनाएको हो ।

संघका अनुसार वर्षभरि मेहनत र पसिना बगाएर प्रथम बीमाशुल्क संकलनमार्फत कम्पनीलाई योगदान गरेका तथा कम्पनीले तोकेको लक्ष्य पूरा गरेका अभिकर्तालाई सम्मानका लागि बोलाइएको कार्यक्रममा नै दुर्व्यवहार गरिएको हो।

संघले नेपालको संविधान, ट्रेड युनियन ऐन तथा श्रम ऐनअनुसार श्रम विभागमा विधिवत् दर्ता भएको ट्रेड युनियनका नेतृत्वलाई अपमान गर्दै अभिकर्ताबीच विभाजन सिर्जना गरिएको आरोप लगाएको छ। साथै, बीमितले पाउने बोनस घटाउने तथा अभिकर्ताबीच असमान व्यवहार गरिएको दाबीसमेत संघले गरेको छ।

सम्मान कार्यक्रम आयोजना गरिएको होटलमा बाउन्सर, सुरक्षाकर्मी र प्रहरी प्रयोग गरी संघका अध्यक्ष कृष्णप्रसाद आचार्यलगायत केही अभिकर्तालाई गिरफ्तार गरिएको भन्दै संघले घटनाको तीव्र विरोध गरेको छ।

संघले राज्यको कानुनअनुसार संगठित भएका श्रमिकको सांगठनिक पहिचान र अधिकार खोज्दा प्रहरी प्रयोग गरी पक्राउ गर्नु कानुनी राज्य तथा श्रमिकको संगठित हुने अधिकारमाथिको ज्यादती भएको जनाएको छ।

संघले घटनाको घोर भत्र्सना, निन्दा र विरोध गर्दै अन्यायविरुद्ध अभिकर्ता, बीमित तथा समग्र बीमा व्यवसायको हितमा आवाज उठाउन बीमाकर्मी, पत्रकार, बीमित र सम्पूर्ण न्यायप्रेमी जनसमुदायसँग अपिलसमेत गरेको छ।

नेपाल लाइफ इन्स्योरेन्सको अभिकर्ता भेलामा लफडा, सिइओलाई पक्राउ गर्न माग गर्दै मुर्दाबादको नारा !

HIMALAYAN LIFE
Banking Sansar Mobile App

प्रतिक्रिया दिनुहोस्