काठमाडौँ। कृषि विकास बैंक र ग्रान्डी अस्पतालबीच सम्झौता भएको छ। बैंक र टोखा, काठमाडौंस्थित ग्रान्डी अस्पतालबीच स्वास्थ्य तथा बैंकिङ सेवामा विशेष सुविधा दिने सम्झौता भयेको हो।
सम्झौतापत्रमा कृषि विकास बैंकका तर्फबाट उपमहाप्रबन्धक सुशिल हुंमागाइ र ग्रान्डी अस्पतालका मुख्य सञ्चालन अधिकृत कर्णेल अमृत खन्नाले हस्ताक्षर गरेका छन्।
कार्यक्रममा बैंकका विभागीय प्रमुख वीना शर्मा, वरिष्ठ शाखा प्रमुख ध्रुव पौडेल र व्यवसाय अधिकृत मणिराज ढुंगाना तथा अस्पतालका सहायक महाप्रबन्धक अर्चना प्रधान, वरिष्ठ अधिकृत मौलिका देउजा र अधिकृत माधव शर्माको उपस्थिति थियो। सम्झौता अनुसार ग्रान्डी अन्तर्राष्ट्रिय अस्पतालले कृषि विकास बैंकका बहालवाला तथा पूर्व कर्मचारी र उनीहरूका आश्रित परिवारका सदस्यलाई स्वास्थ्योपचार, विभिन्न परीक्षण, बेड चार्ज, सर्जरी तथा वेलनेस प्याकेजमा विशेष छुट उपलब्ध गराउने बैंकले जनाएको छ।
साथै, टेलि-कन्सल्टेसन, आपतकालीन उद्धार सेवा (रोड तथा हेलि सर्भिस) र स्वास्थ्य सचेतना कार्यक्रमहरूमा समेत प्राथमिकता तथा सहुलियत प्रदान गरिनेछ। बैंकले ग्रान्डी अन्तर्राष्ट्रिय अस्पतालका डाक्टर, नर्स, प्यारामेडिक्स तथा अन्य कर्मचारीलाई विभिन्न बैंकिङ सेवामा विशेष छुट तथा सहुलियत उपलब्ध गराउनेछ।
अस्पतालका कर्मचारीले बैंकका शाखामार्फत डिजिटल बैंकिङ, डेबिट तथा क्रेडिट कार्ड, लकर सुविधा र घर, सवारी तथा शिक्षा कर्जालगायतका सेवामा लाग्ने सेवा शुल्क तथा प्रिमियम दरमा विशेष छुट पाउनेछन्। यता वैदेशिक मुद्रा सटही तथा रेमिट्यान्स सेवामा समेत विशेष सहुलियत उपलब्ध गराइने बैंकले जनाएको छ।a



