नाबिल बैंकले दुई हजार बढी कर्मचारीको १० लाख बराबरको जीवन बीमा गराउने, बीमा कम्पनीबाट प्रस्ताव आह्वान !

काठमाडौं । नाबिल बैंक लिमिटेडले आफ्ना २,४७३ जना कर्मचारीका लागि सामूहिक अवधि जीवन बीमा (ग्रुप टर्म लाइफ इन्स्योरेन्स) सेवा उपलब्ध गराउन इच्छुक जीवन बीमा कम्पनीहरूबाट सिलबन्दी प्रस्ताव (बोलपत्र) आह्वान गरेको छ।

बैंकले प्रत्येक कर्मचारीका लागि १० लाख रुपैयाँ बराबरको बीमा सुविधा उपलब्ध गराउने उद्देश्यले प्रस्ताव मागेको हो। बैंकका अनुसार बीमा योजनाले प्राकृतिक, दुर्घटनाजन्य तथा अन्य सबै प्रकारका मृत्युका कारणलाई समेट्ने व्यवस्था हुनुपर्नेछ।

बोलपत्रमा सहभागी हुन इच्छुक जीवन बीमा कम्पनीहरूले नोटरी प्रमाणित प्यान-भ्याट दर्ता प्रमाणपत्र, पछिल्ला दुई आर्थिक वर्षको लेखापरीक्षण प्रतिवेदन, प्रमुख ग्राहकहरूको सूची, नवीकरण गरिएको कम्पनी दर्ता प्रमाणपत्र, पछिल्ला दुई वर्षको कर चुक्ता प्रमाणपत्र तथा प्रवर्द्धक र प्रमुख व्यवस्थापन टोलीको संक्षिप्त विवरण पेस गर्नुपर्नेछ।

बैंकले तोकिएका सम्पूर्ण कागजातसहितको प्रस्ताव सिलबन्दी खाममा राखी आफ्नो प्रशासन विभागमा साउन २८ गते बेलुका ४ बजेसम्म बुझाउन आग्रह गरेको छ। उक्त समयसीमापछि प्राप्त हुने कुनै पनि प्रस्ताव स्वीकार नगरिने बैंकले जनाएको छ।

बैंकले यो प्रक्रिया प्रतिस्पर्धात्मक बोलपत्रमार्फत योग्य जीवन बीमा कम्पनी छनोट गरी आफ्ना कर्मचारीलाई सामूहिक जीवन बीमा सुविधा उपलब्ध गराउने उद्देश्यले अघि बढाएको हो।

HIMALAYAN LIFE
Banking Sansar Mobile App

प्रतिक्रिया दिनुहोस्