काठमाडौँ। नेपाल इन्भेष्टमेन्ट मेगा बैंकका प्रमुख कार्यकारी अधिकृत (सिइओ) ज्योति प्रकाश पाण्डेलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले पक्राउ गरेपछि नेपाल बैंकर्स संघले आपत्ति प्रकट गरेको छ।
ठगी तथा अपराधिक विश्वासघातको आरोपमा पाण्डेलाई पक्राउ गरिएको विषयमा बैंकर्स संघका अध्यक्ष सन्तोष कोइरालाले सीआईबीसँग भेट गरी बैंकिङ प्रक्रियालाई फौजदारीकरण नगर्न आग्रह गरेका हुन्।
६३ वर्षीय पाण्डेलाई जिल्ला प्रहरी कार्यालय सिन्धुलीको सहयोगमा सिन्धुलीको बसपार्कस्थित मदनभण्डारी राजमार्गबाट लुकिछिपी भागिरहेको अवस्थामा २९ गते राति पक्राउ गरिएको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआइबी) ले जनाएको छ ।
अनुसन्धानका अनुसार स्मार्ट टेलिकमले अनुमतिपत्र नवीकरण नगरेपछि सरकारको स्वामित्वमा आएका भौतिक संरचना र प्रणालीहरूलाई लिलामी प्रक्रियामार्फत सरकारी हक टुटाउने उद्देश्यले काम गरेको पाइएको छ ।
सीआईबीसँगको भेटपछि अध्यक्ष कोइरालाले बैंकले ऋण असुलीका लागि धितोमा रहेका सम्पत्ति लिलाम गर्नु बैंकको पहिलो अधिकार भएको उल्लेख गरेका छन्।

