काठमाडौं । चालु आर्थिक वर्ष २०८२/८३ को दोस्रो त्रैमासमा बैंक तथा वित्तीय संस्थाबाट निजी क्षेत्रतर्फ प्रवाहित कर्जामा अपेक्षित वृद्धि हुन सकेको छैन। नेपाल राष्ट्र बैंकका अनुसार पुस मसान्तसम्म निजी क्षेत्रतर्फको कर्जा ३.६ प्रतिशत अर्थात् १ खर्ब ९७ अर्ब ४७ करोड रुपैयाँले बढेर ५६ खर्ब ९५ अर्ब १७ करोड रुपैयाँ पुगेको छ।
समीक्षा अवधिमा निजी क्षेत्रतर्फ प्रवाहित कर्जामध्ये वाणिज्य बैंकहरूको कर्जा ३.७ प्रतिशतले वृद्धि भएको छ भने विकास बैंकको कर्जा २.९ प्रतिशत र वित्त कम्पनीको कर्जा प्रवाह १.२ प्रतिशतले बढेको छ।
पुस मसान्तसम्म बैंक तथा वित्तीय संस्थाहरूको कुल कर्जामध्ये चालु सम्पत्ति (कृषि तथा गैरकृषिजन्य वस्तु) धितोमा आधारित कर्जाको हिस्सा १५ प्रतिशत रहेको छ। घरजग्गा धितोमा आधारित कर्जाको अंश ६३.९ प्रतिशत छ। अघिल्लो वर्षको सोही अवधिमा यस्ता कर्जाको हिस्सा क्रमशः १४.५ प्रतिशत र ६४.९ प्रतिशत रहेको थियो।
चालु आवको पहिलो छ महिनामा क्षेत्रगत रूपमा हेर्दा उपभोग्य क्षेत्रतर्फ कर्जा ९.१ प्रतिशतले बढेको छ। निर्माण क्षेत्रमा ७.२ प्रतिशत, यातायात, सञ्चार तथा सार्वजनिक सेवातर्फ ६.२ प्रतिशत, औद्योगिक उत्पादनतर्फ ४.४ प्रतिशत, वित्त, बीमा तथा अचल सम्पत्तितर्फ १.१ प्रतिशत तथा सेवा उद्योगतर्फ ०.९ प्रतिशतले कर्जा विस्तार भएको छ। यस अवधिमा कृषि क्षेत्रतर्फको कर्जा भने १.१ प्रतिशतले घटेको राष्ट्र बैंकले जनाएको छ।
त्यसैगरी, कर्जाको प्रकृतिअनुसार हेर्दा पछिल्लो छ महिनामा मार्जिन प्रकृतिको कर्जा ८.३ प्रतिशतले बढेको छ। ट्रस्ट रिसिट (आयात) कर्जा ७.८ प्रतिशत, हायर पर्चेज ७.३ प्रतिशत, क्यास क्रेडिट ३ प्रतिशत, माग तथा अन्य चालु पुँजी कर्जा २.९ प्रतिशत, रियल इस्टेट (व्यक्तिगत आवासीय घर कर्जासमेत) २.५ प्रतिशत तथा आवधिक कर्जा २.४ प्रतिशतले वृद्धि भएको छ। यस अवधिमा अधिविकर्ष कर्जा भने ३.३ प्रतिशतले घटेको छ।
केन्द्रीय बैंकका अनुसार गत आर्थिक वर्षको सोही अवधिमा निजी क्षेत्रतर्फ प्रवाहित कर्जा २ खर्ब ६५ अर्ब ५६ करोड रुपैयाँले बढेको थियो। वार्षिक बिन्दुगत आधारमा २०८२ साल पुस मसान्तमा बैंक तथा वित्तीय संस्थाबाट निजी क्षेत्रतर्फ प्रवाहित कर्जा ६.७ प्रतिशतले वृद्धि भएको छ।
पुस मसान्तसम्म निजी क्षेत्रतर्फ प्रवाहित कुल कर्जामध्ये गैरवित्तीय संस्थागत क्षेत्रको हिस्सा ६२.७ प्रतिशत रहेको छ भने व्यक्तिगत तथा घरपरिवार क्षेत्रको अंश ३७.३ प्रतिशत छ। अघिल्लो आर्थिक वर्षको सोही अवधिमा यस्तो हिस्सा क्रमशः ६४.२ प्रतिशत र ३५.८ प्रतिशत रहेको थियो।

