काठमाडौँ। नेपाल एसबिआई बैंक लुट प्रकरणमा संलग्न रहेको आरोपमा एक जना व्यक्ति पक्राउ परेका छन्। पक्राउ पर्नेमा सिन्धुलीको घ्याङलेख गाउँपालिका-२ का ५३ वर्षीय ज्ञानबहादुर तामाङ रहेका छन्।
बैंकको शाखामा भएको लुटपाटमा संलग्न रहेको आरोपमा तामाङलाई प्रहरीले काठमाडौँको कीर्तिपुरबाट पक्राउ गरेको हो। हाल उनलाई थप अनुसन्धान तथा कारवाहीका लागि सिन्धुली पठाइएको छ ।
नेपाल एसबिआई बैंक लुट्ने मुख्य योजनाकार बैंक कै घरभेटी रहेका थिए। बैंक लुट प्रकरणमा पक्राउ परेका लुटेराहरुले ‘घरभेटीकै योजनामा बैंक लुटेको’ भनेपछि बैंक लुट्ने मुख्य योजनाकार बैंक कै घरभेटी रहेको खुलासा भएको थियो। बैंक लुट्न खोज्ने सबै लुटेराहरु जेनजी समूहका थिए।
आइतबार साँझ करिब ७ बजे बैंकमा प्रवेश गरेका लुटेराहरूले सुरक्षामा खटिएका गार्डमाथि धारिलो हतियार प्रहार गरी उनको हात काटिदिएका थिए। त्यसपछि बैंकका कर्मचारीहरूलाई नियन्त्रणमा लिई बाँधेर नगद रकम लुटपाट भएको थियो।


