काठमाडौँ। कामना सेवा विकास बैंकले विशिष्ट बचत खाता अन्तर्गत नेपालकै पहिलो ‘Door Step Banking Service’ सार्वजनिक गर्दै नेपालको बैंकिङ क्षेत्रमा नयाँ सुरुवात गरेको छ । यो सुविधा विशेषगरी आफ्नो दैनिक कार्यमा व्यस्त रहने तथा बैंकसम्म नआई बैकिङ सुविधा लिन चाहने ग्राहकहरुको लागि प्रत्यक्ष रुपमा फाईदाजनक हुनेछ ।
अत्याधुनिक प्रविधिमा आधारित यस सेवा अन्तर्गत ग्राहकहरुले बैंकले प्रदान गर्ने विभिन्न सेवाहरु जस्तै नगद जम्मा गर्ने, खातावाट नगद झिक्ने, चेक बुक माग गर्ने, बैंक स्टेटमेन्ट, ब्यालेन्स सर्टिफिकेट तथा अन्य सुविधाहरु आफ्नो घर वा कार्यालयमा वसेर प्राप्त गर्न सक्नेछन् । यो सुविधाहरु निशुल्क रुपमा प्रदान गरिएको छ ।
ग्राहकले आफ्नो मोवाईल बैंकिङ एपमार्फत् आवश्यक सेवा अनुरोध गर्न सक्ने र अनुरोध प्राप्त भएपश्चात बैैंक प्रतिनिधीले अनुरोध गरिएको स्थान सम्मनै पुगी उक्त सेवा प्रदान गर्ने बैंकले जनाएको छ । यसले डिजिटल बैंकिङको प्रर्वद्धन गर्दै बैंकिङ पहुँचलाई अझ सहज, सरल र प्रविधिमैत्री वनार्ईको छ । नेपाल राष्ट्र बैंकवाट स्वीकृति लिई सुरुवात गरिएको यो सुविधा नेपालकै पहिलो Door Step Banking Service हो । विश्वका केही विकशित देशहरुमा ग्राहकको घरमै पुगेर बैंकिङ सुविधा प्रदान गर्ने प्रचलन रहेतापनी नेपालको बैंकिङ ईतिहासमा पहिलो भएको र कामना सेवाले यस्तो सुविधा ल्याएर नेपालको बैंकिङ क्षेत्रमा नविनतम् सुविधाको थालनी गरेको बैंकका प्रमुख मार्केटिङ अधिकृत दिपेन्द्र सुवेदीले बताएका छन् ।
प्रमुख मार्केटिङ अधिकृत सुवेदीका अनुसार बैंकले यो सुविधाले ग्राहकको सन्तुष्टीलार्य मुख्य प्राथमिकता मान्दै डिजिटल प्रविधिमा आधारित सुविधा स्वरुप Door Step Banking Service को सुरुवात गरिएको हो, जसले ग्राहकहरुलाई समयको वचत, सहजता, सुरक्षाको पूर्ण अनुभुती गराउनेछ । यो सुविधा दैनिक रुपमा व्यस्त रहने व्यवसायी, कार्यालयका कर्मचारी, गृहीणी, ज्येष्ठ नागरिकहरुका लागि अत्यन्त उपयोगी हुने विश्वास बैंकले लिएको छ । ग्राहकको लामो लाईन, बैंकसम्म पुग्ने समय तथा कागजी झन्झट नलिई घरमै वसेर बैंककाका सुविधाहरु उपभोग गर्न सकिने छ ।
यो सुविधा अन्तर्गत बैंकको लकर सुविधा, एटिएम डेविट कार्ड, मोवाईल बैंकिङ सुविधा समेत निशुल्क रहेको छ । हाल यो सुविधा काठमाडौं, ललितपुर र भक्तपुरमा सुरुवात गरिएको र विस्तारै देशैभर यो सुविधा विस्तार गर्ने बैंकले जनाएको छ ।