काठमाडौँ। बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन)ले बैंकिङ सेवाहरू सहज रुपमा संचालन गर्ने वातावरण बनाउन आग्रह गरेको छ। सिबिफिनले भदौ २९ गते एक विज्ञप्ति जारी गर्दै यस्तो आग्रह गरेको हो।
सिबिफिनले विज्ञप्ति जारी गर्दै भन्यो, ‘अकल्पनीय आक्रमण र क्षतिबाट विक्षिप्त बनेको निजी क्षेत्रलाई शान्ति र सुरक्षाको प्रत्याभूतिसहित मुलुकभित्रै लगानी गर्ने, पेशा, व्यवसाय एवं रोजगार गर्न पाउने उपयुक्त नीति एवं वातावरणको सिर्जना गरी समग्र निजी क्षेत्रमा आशा, ऊर्जा एवं उत्साह भर्नका लागि नवगठित सरकारले कुनै कसर बाँकी नराख्नेमा सिबिफिन विश्वस्त रहेको छ।’
विज्ञप्तिमा थप भनिएको छ, ‘यसका साथै गलत मनसायसहित बैंक तथा वित्तीय संस्थामा क्षति पुर्याउने तत्वहरुसँग सजग हुँदै अर्थतन्त्रको आधारस्तम्भ र दिगो आर्थिक विकासको संवाहकका रुपमा रहेका सबल र जिम्मेवार बैंक तथा वित्तीय संस्थाहरुलाई आफ्ना बैंकिङ सेवाहरु सहजरुपमा सञ्चालन गर्ने गराउने कार्यमा सहयोग गरिदिन समेत सिबिफिन सम्बन्धित सबैमा हार्दिक अनुरोध गर्दछ।’


