काठमाडौं । बागमती प्रदेशमा बैंकिङ कसुरका घटनाहरू तीव्र गतिमा बढ्दै गइरहेका छन्। प्रदेश प्रहरी कार्यालयका अनुसार, सबैभन्दा बढी चेक बाउन्ससम्बन्धी उजुरीहरू रेकर्ड गरिएका छन् । बैंक तथा वित्तीय संस्थामा गैरकानुनी, जालझेलपूर्ण वा नियम उल्लंघन गरी कारोबार गर्नेहरूको संख्या प्रदेशमा उल्लेख्य रूपमा बढेको छ।
प्रदेश प्रहरी कार्यालयका प्रवक्ता, प्रहरी नायब उपरीक्षक सञ्जय सिंह थापाका अनुसार, ठगीका धेरैजसो घटनाहरू चेक बाउन्स, नक्कली हस्ताक्षर, नक्कली निक्षेप रसिद प्रस्तुत गरी ऋण लिने, फर्जी बैंक खाता खोल्ने, र मोबाइल वालेट ह्याकिङ लगायतका छन्। जनचेतनाको कमीका कारण धेरै मानिसहरू सजिलै यस्ता ठगीमा पर्न बाध्य हुने गरेका छन्।
बैंकिङ कसुर नियन्त्रणका लागि प्रहरीको सतर्कता र सर्वसाधारणको जागरुकता दुवै आवश्यक रहेको उनले बताए। प्रहरीका विभिन्न निकायहरूले बैंक तथा वित्तीय संस्थाका ग्राहकलाई सचेत बनाउन अनेकौं कार्यक्रम सञ्चालन गरिरहेका छन्, तर प्रविधिको दुरुपयोग रोक्न अझै चुनौती कायम छ।
विशेष गरी नक्कली कागजात तयार पारेर ऋण लिने, नक्कली चेक प्रयोग गर्ने, खातामा रकम नभएको अवस्थामा चेक काट्ने, अरूको खाताबाट बिना अनुमति रकम झिक्ने, र एटीएम कार्ड दुरुपयोग गर्ने घटनाहरू बढेका छन्। यसलाई नियन्त्रण गर्न नेपाल सरकारले बैंकिङ कसुर तथा सजाय ऐन, २०६४ लागू गरेको छ।
यो ऐनले बैंकिङ कसुर गर्ने व्यक्तिलाई कानुनी कारबाहीमा ल्याउने व्यवस्था गरेको छ। प्रहरीका अनुसार हालै बैंकिङ प्रणाली कमजोर पारेर रकम हिनामिना गर्ने र नक्कली कागजात बनाएर कर्जा लिने प्रवृत्ति बढेको छ। बैंकिङ कसुरसम्बन्धी घटनाहरू राष्ट्र बैंकसँग समन्वय गरी अनुसन्धान गरिन्छ।
डिजिटल कारोबार र वित्तीय पहुँच विस्तारसँगै बैंकिङ कसुरका घटना पनि बढेका छन्। चेक बाउन्सदेखि मोबाइल वालेट, अनलाइन कारोबार र इन्टरनेट बैंकिङमा हुने धोखाधडीहरू समेत बैंकिङ कसुरमा पर्दछन्। डिजिटल कारोबारमा ठगहरूको सक्रियता बढी भएपछि यस्तो किसिमको कसुर गर्न सहज भएको प्रहरीको निष्कर्ष छ।