काठमाडौँ। महालक्ष्मी विकास बैंकमा ग्राहकले जम्मा गरेको रकम हिनामिना भएको पाइएपछि सबै कर्मचारी निलम्बन भएर सेवा नै बन्द भएको सो बैंकको दार्चुलास्थित शाखा अब भने संचालनमा आएको छ । बैंकले हेमराज जोशीलाई शाखा प्रबन्धक बनाएर बैंक चलाउने जिम्मा दिएको हो ।
बैंक घोटाला प्रकरण बाहिरिएपछि सो बैंकमा रकम झिक्नेमात्र पुग्न थालेका छन् । सो घोटाला प्रकरण बाहिरिएपछि बैंकमा पैसा राख्नेहरु नगन्य मात्रमा देखिएको छ ।
महालक्ष्मी विकास बैंकमा ग्राहकको रकम हिनामिना गरेको आरोपमा पक्राउ पर्नेहरुको नाम सार्वजनिक भएको छ । प्रहरीका अनुसार पक्राउ पर्नेमा शाखा प्रबन्धक सागर शाही, निर्मला साउद, धनन्जय पन्त र अम्बादत्त पन्त रहेका छन् ।
प्रहरीका अनुसार उनीहरुमाथि अदालतबाट ७ दिनको म्याद थप गरी अनुसन्धान भइरहेको छ । बैंकमा भएको करोडौँ घोटाला प्रकरणमा नियामक निकाय नेपाल राष्ट्र बैंकलेसमेत चासो दिएको छ । बैंकमा ग्राहकले जम्मा गरेको रकम नै घोटाला भएको पाइएपछि राष्ट्र बैंकले विशेष चासो दिएको हो ।