काठमाडौँ। नेपाल राष्ट्र बैंकले विदेशी भाषा परीक्षा सञ्चालन गर्ने एजेन्सीलाई पनि विदेशी मुद्रा सटही सुविधा दिने भएको छ । राष्ट्र बैंकले त्यस्ता संस्थाहरुका लागि १५ हजार अमेरिकी डलरसम्मको सुविधा दिने व्यवस्था गरेको हो ।
यस व्यवस्था अनुसार टोफेल, आईईएलटीएस, जीआरई, जिम्याट, स्याट लगायत सेवा आयात गरेका नेपाली संस्थाले त्यसबापत भुक्तानीका लागि प्रतिपटक १५ हजार डलरसम्मको सटही सुविधा उपलब्ध हुने राष्ट्र बैंकले जनाएको छ ।
विदेशी मुद्रामा अंकित सिक्काहरु भने नेपालमा सटही हुँदैनन् । च्यातिएको, मैलिएको, झुत्रिएको, प्वाल परेको, केरमेट भएको, जलेको, गलेको, लुलो भएको, किराले खाएको, पानीले भिजेको विदेशी नोटको सटही सम्बन्धित नोट निष्काशन गर्ने मौद्रिक अधिकारी-केन्द्रीय बैंकको सफा नोट नीति बमोजिम हुने गरेको छ ।
विदेशी नोट निष्काशन गर्ने अधिकार सम्बन्धित मौद्रिक अधिकारी-केन्द्रीय बैंकसँग रहने हुनाले त्यस्ता विदेशी नोटको सटही नेपालमा गरिदिन नेपाल राष्ट्र बैंक बाध्य हुने छैन ।