prabhu

कुमारी बैंकको नेतृत्वमा २१६ मेगावाट क्षमताको माथिल्लो सेती जलविद्युत् आयोजना निर्माण हुने 

काठमाडौं । सुदूरपश्चिम प्रदेशको बझाङ जिल्लामा निर्माण हुन लागेको २१६ मेगावाट क्षमताको माथिल्लो सेती जलविद्युत् आयोजनाको वित्तीय व्यवस्थापन टुंगिएको छ। बझाङको साइपाल गाउँपालिका–४ र ५ मा निर्माण हुने सो आयोजनाका लागि कुमारी बैंकको नेतृत्वमा तथा एनएमबी बैंकको सह–नेतृत्वमा वित्तीय संयोजन गरिएको हो।

यस आयोजनामा माछापुच्छ्रे बैंक, हाइड्रोइलेक्ट्रिसिटी इन्भेस्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी, लक्ष्मी सनराइज बैंक, नेपाल इन्भेस्टमेन्ट मेगा बैंक, प्रभु बैंक, नेपाल एसबिआई बैंक, एनआईसी एशिया बैंक, कृषि विकास बैंक, लुम्बिनी विकास बैंक, सांग्रिला डेभलपमेन्ट बैंक, कामना सेवा विकास बैंक र आइसिएफसी फाइनान्स लगायतका बैंक तथा वित्तीय संस्थाहरू सह–वित्तीय व्यवस्थापनमा सहभागी छन्।

एक विशेष समारोहका बीच कुमारी बैंक र आयोजना प्रवर्द्धक समृद्धि इनर्जी लिमिटेडबीच वित्तीय व्यवस्थापनसम्बन्धी सम्झौता सम्पन्न भएको छ। कुमारी बैंकका प्रमुख कार्यकारी अधिकृत रामचन्द्र खनाल र समृद्धि इनर्जी लिमिटेडका अध्यक्ष शैलेन्द्र गुरागाईंले सम्झौतापत्रमा हस्ताक्षर गरे।

करिब ४१ अर्ब ६० करोड रुपैयाँ लागतमा निर्माण हुने आयोजना ७० प्रतिशत ऋण र ३० प्रतिशत स्वपुँजीको आधारमा अगाडि बढाइनेछ। अर्ध जलाशययुक्त नदी प्रवाह प्रणालीमा आधारित यो आयोजना ४.५ घण्टासम्मको पिकिङ्ग क्षमता हुनेछ। यसको डिजाइन डिस्चार्ज ३४.१ क्यूसेक, ग्रस हेड ७५८.९ मिटर र नेट हेड ७३५.७ मिटर हुनेछ।

नेपाल विद्युत् प्राधिकरणसँग विद्युत् खरिद सम्झौता भइसकेको र आवश्यक उत्पादन अनुमति पनि प्राप्त भइसकेको यस आयोजनाले आगामी पाँच वर्षभित्र निर्माण सम्पन्न गरी २०८८ असार ३१ गतेभित्र व्यावसायिक उत्पादन सुरु गर्ने लक्ष्य राखिएको छ।

वार्षिक एक हजार २२९.६ गिगावाट–घण्टा विद्युत् उत्पादन हुने अनुमान गरिएको छ। उत्पादित विद्युत् आयोजनास्थलमै निर्माण गरिने २२० केभीको स्विचयार्डमार्फत ३० किलोमिटर लामा २२० केभी डबल सर्किट प्रसारण लाइन हुँदै प्रस्तावित ४०० केभी बझाङ सबस्टेशनमार्फत राष्ट्रिय ग्रिडमा जोडिनेछ।

आयोजनाका लागि २५ किलोमिटर लामो पहुँच सडक निर्माण गरिनेछ। प्रति मेगावाट लागत करिब १९ करोड २५ लाख रुपैयाँ हुने अनुमान छ। आयोजनाको ३० प्रतिशत स्वपुँजी प्रवर्द्धक कम्पनी समृद्धि इनर्जी लिमिटेडले संस्थागत तथा व्यक्तिगत लगानीकर्ताबाट संकलन गरिरहेको छ।

स्थानीय पूर्वाधार विकास, रोजगारी सिर्जना, ऊर्जा आत्मनिर्भरता र सुदूरपश्चिमको आर्थिक समृद्धिमा योगदान दिने अपेक्षासहित माथिल्लो सेती जलविद्युत् आयोजना नेपालको जलविद्युत् इतिहासमा महत्वपूर्ण उपलब्धिका रूपमा हेरिएको छ। आयोजनाबाट सुदूरपश्चिम उज्यालो बनाउने सपना साकार हुने विश्वास लिइएको छ।

Shangrila Dev Bank
Citizen Life Insurance
Himalayan life insurance

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै