काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकले निष्कासन गरेको ‘७ प्रतिशत आरबिबिएल डिबेञ्चर २०८८’ नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा सूचीकृत भएको छ।
बैंकले उक्त ऋणपत्र गत वैशाख ७ देखि १२ गतेसम्म बिक्रीका लागि खुला गरेको थियो भने वैशाख २१ गते बाँडफाँट सम्पन्न भएको थियो। बुधबार नेप्से र बैंकबीच ऋणपत्र सूचीकरणसम्बन्धी औपचारिक सम्झौता सम्पन्न भएको हो।
सम्झौतापत्रमा राष्ट्रिय वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत देवेन्द्र रमण खनाल र नेप्सेका प्रमुख कार्यकारी अधिकृत चुडामणी चापागाईंले हस्ताक्षर गरेका छन्।
कुल २५ लाख कित्ता ऋणपत्र जारी गरिएको यो योजना ७ वर्षे अवधिको हो, जसमा वार्षिक ७ प्रतिशत ब्याजदर तोकिएको छ। नेप्सेमा यो ऋणपत्र ‘७ प्रतिशत आरबिबिएल डिबेञ्चर २०८८’ नाममा र स्टक संकेत ‘आरबिबिडीट ८८’ को रूपमा सूचीकृत गरिएको छ।