काठमाडौं । बैंकिङ क्षेत्रको समग्र सुधार र सुदृढीकरणका लागि गठित कार्यदलले आफ्नो अन्तिम प्रतिवेदन नेपाल राष्ट्र बैंकलाई बुझाएको छ। असार ३० गते कार्यदलले गभर्नर प्रा.डा. विश्वनाथ पौडेलसमक्ष उक्त प्रतिवेदन प्रस्तुत गरेको हो। यसअघि प्रारम्भिक प्रतिवेदन असार २४ गते नै बुझाइएको थियो।
कार्यदलको नेतृत्व डा. रेवतबहादुर कार्कीले गरेका थिए। सदस्यमा नेपाल बैंकर्स संघका पूर्वअध्यक्ष भुवनकुमार दहाल र राष्ट्र बैंकको बैंक तथा वित्तीय संस्था नियमन विभागका कार्यकारी निर्देशक गुरुप्रसाद पौडेल रहेका छन्। पौडेल कार्यदलका सदस्य सचिवसमेत हुन्।
प्रतिवेदनमा बैंकिङ प्रणालीमा देखिएका संरचनागत, व्यवस्थापकीय, नियामकीय तथा नीतिगत कमजोरीहरूको पहिचान गर्दै सुधारका लागि रणनीतिक सिफारिसहरू समेटिएका छन्। राष्ट्र बैंकले उक्त प्रतिवेदनको अध्ययन गरी आवश्यक सुधार योजनाहरू कार्यान्वयनमा लैजाने जनाएको छ।