काठमाडौं । एभरेष्ट बैंक लिमिटेड र नेपाल क्लियरिङ्ग हाउस लिमिटेड (एनसीएचएल) बीच ‘नेपाल पे कार्ड’ र ‘नेशनल कार्ड स्विच (एनपीएस-एनसीएस)’ को डोमेस्टिक कार्ड स्किमको प्रिन्सिपल सदस्यता सम्बन्धी सम्झौता सम्पन्न भएको छ। सम्झौतापत्रमा एभरेष्ट बैंकका प्रमुख कार्यकारी अधिकृत सुदेश खालिङ र एनसीएचएलका प्रमुख कार्यकारी अधिकृत निलेश मान सिंह प्रधानले हस्ताक्षर गरेका हुन्।
एनसीएचएलले हालै एनपीएस-एनसीएस पूर्वाधारको तयारी पूरा भएको घोषणा गर्दै बैंक तथा वित्तीय संस्थाहरुलाई नेपालकै आफ्नै कार्ड स्किम ‘नेपाल पे’ अन्तर्गत कार्ड इस्यु (जारी) तथा अक्वायर (स्वीकार) गर्नका लागि स्विच प्रणालीमा आबद्ध हुन आह्वान गरेको थियो। यसै सन्दर्भमा एभरेष्ट बैंक पनि नेपाल पे प्रणालीमा आबद्ध भएको हो। अब व्यावसायिक रूपमा प्रणाली सुरु भएसँगै, एभरेष्ट बैंकले आफ्ना ग्राहकहरूलाई नेपाल पे कार्ड इस्यु गर्न तथा स्वीकृति लिन सक्नेछ।
‘नेपाल पे’ लाई विभिन्न कार्ड स्विचहरूसँग अन्तर-जडान गर्दै डोमेस्टिक कार्ड कारोबारको रुटिङ्ग तथा सेटलमेन्टका लागि एकीकृत कार्ड स्विचको रूपमा सञ्चालनमा ल्याउने तयारी भइरहेको छ। यस प्रणालीको पूर्ण कार्यान्वयनपछि, कारोबार लागत घटाउने, डेटा स्थानीयकरण सुनिश्चित गर्ने तथा डिजिटल भुक्तानी प्रणालीमा नयाँ प्रविधिहरूको विकास र विस्तार हुने अपेक्षा गरिएको छ।
हाल एनसीएचएलले ५४ भन्दा बढी बैंक तथा वित्तीय संस्थाहरू, अधिकांश पेमेन्ट सर्भिस अपरेटर र पेमेन्ट सर्भिस प्रोभाइडरहरू, साथै १०० भन्दा बढी गैर-बैंकिङ्ग सदस्यहरूलाई विभिन्न राष्ट्रिय भुक्तानी प्रणालीमार्फत सेवा प्रदान गर्दै आएको छ।