यी हुन् बैंकिङ क्षेत्रका साताभरका चर्चित ५० खबर !
१. नाताले माधव कुमार नेपालका भान्जा पर्ने पूर्व बैंकर मनोज न्यौपाने विरुद्ध भ्रष्टाचार मुद्धा दर्ता भएको छ । यस अघि पनि नक्कली ऋण प्रकरणमा सीआईबीले नियन्त्रणमा लिएर, हिरासतमा राखी छोडेका बैंकर न्यौपानेले तत्कालीन सनराइज बैंकमा रहँदा पतंजलीलाई भ्रष्टाचारको मतियार बनी ऋण दिएको भन्दै उनी विरुद्ध भ्रष्टाचार मुद्धा दर्ता भएको हो । उनी तत्कालीन सेन्चुरी कमर्सियल बैंकका सीइओसमेत हुन् । सेन्चुरी प्रभुमा गाभीएपछि उनी प्रभुको सिनियर डेपुटी सीइओ भएका थिए । तर नक्कली ऋण प्रकरणमा परेपछि उनले भीआरएस लिएर बैंकबाट बिदा भएका थिए ।
२. तत्कालीन सनराइज बैंकका सीइओ किशोर कुमार महर्जनसहित दर्जन हाराहारी बैंकरविरुद्ध भ्रष्टाचार मुद्धा दर्ता भएको छ । पतंजलीलाई ऋण दिने बहानामा भ्रष्टाचारीको मतियार बनेको भन्दै उनीहरुविरुद्ध पनि मुद्दा दर्ता भएको हो । मुद्धामा सीइओ महर्जनसहित सबैजसो तहका बैंकर छन् ।
३. नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत मनोज कुमार ज्ञवालीले बैङ्कहरूले दिएको कर्जाले जिडिपीमा सहयोग नगरेको बताएका छन्। काठमाडौंको आयोजित एक कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् । यस्तै उनले यसमा बैंकहरूको मात्रै गल्ती नभएको समेत बताएका छन् ।
४. नबिल बैंकको नायब प्रमुख कार्यकारी अधिकृतमा आदर्श बजगाइँ बढुवा भएका छन्। बैंकको बिहीबारको सञ्चालक समिति बैठकले ६ वर्षपछि बजगाइँलाई नायब प्रमुख कार्यकारी अधिकृतमा बढुवा गरेको हो । बैंकका अनुसार २०८२ असार १ गतेदेखि लागु हुने गरी बजगाइँलाई नायब महाप्रबन्धकबाट नायब प्रमुख कार्यकारी अधिकृतमा बढुवा गरिएको छ ।
५. काठमाडौँ। नबिल बैंक ‘द बैंकर्स टेक्नोलोजी अवार्ड २०२५’ बाट सम्मानित भएको छ। नेपालको अग्रणी बैंक नबिल बैंक एसिया-प्रशान्त क्षेत्रका लागि ‘द बैंकर्स टेक्नोलोजी अवार्ड २०२५’ बाट सम्मानित भएको हो । बैंकिङ क्षेत्रमा नवप्रवर्तन, डिजिटल चुस्तता र नेतृत्व क्षमताका आधारमा दिइने यो पुरस्कार अन्तर्राष्ट्रिय बैंकिङ क्षेत्रमा प्रतिष्ठित मानिन्छ । जुन नबिल बैंकले पाएको छ।
६. अटो व्यवसायीहरु सवारीसाधन खरिदमा ऋण लगानीको अनुपातबढाउन लबिइङमा लागेका छन्।नेपाल अटोमोबाइल इम्पोर्टर्स एण्ड म्यानुफ्याक्चरर्स एसोसिएसन (नाइमा)ले नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्व पौडेललाई भेटेर यस्तो लविङ्ग गरेका हुन् ।
७. विभिन्न बैङ्कहरुले गैरकानुनी रुपमा अटो लोन दिईरहेको पाइएको छ । प्रचलित व्यवस्थाको लुप होललाई समातेर विभिन्न बैंकहरुले नेपाल राष्ट्र बैंकले जारी गरेको व्यवस्थाविपरित ऋण दिईरहेको पाइएपछि नियामक नेपाल राष्ट्र बैंकले यस विषयमा चासोका साथ अनुसन्धान गरिरहेकोसमेत पाइएको छ ।
८. देशभरको बैंकिङ स्थिति बुझ्न नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्वनाथ पौडेल देश दौडाहामा निस्केका छन् । आफ्ना दुई विभागीय प्रमुखलाई साथै लिएर उनी देश दौडाहामा निस्किएका हुन् । उनले यात्राका क्रममा व्यवसायी, बैंकरदेखि ऋणीसम्म कुराकानी गरेर समस्या बुझ्ने र सोहि अनुसार मौद्रिक नीति ल्याउने तयारी गरेको बुझिएको छ ।
९. अर्थमन्त्री विष्णु पौडेलले सरकार बैंकिङ क्षेत्रका समस्या समाधानमा तयार रहेको बताएका छन् । काठमाडौँमा आयोजित एक कार्यक्रममा बोल्दै उनले वित्तीय क्षेत्रलाई राम्रोसँग अगाडी बढाउन बैंकिङ क्षेत्रका समस्या समाधान गर्नुपर्ने र त्यसका लागि आफु तयार रहेको बताएका हुन् ।
१०. घरजग्गा कारोबार गर्दा केवाईसी चाहिने नियम बनेको दोश्रो दिननै सो नियम परिवर्तन हुने भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको चासोपछि निर्देशनमा संशोधन गर्न लागिएको हो । यससंगै अव घरजग्गा कारोबार केवाईसी नचाहिने भएको छ ।
११. नबिल बैंकको प्रमुख कार्यकारी अधिकृतमा मनोज ज्ञवाली नियुक्त भएका छन् । बिहीबार बसेको बैंकको संचालक समितिको बैठकले कामु सीइओ रहेका ज्ञवालीलाई सीईओमा नियुक्त गरेको हो । नियामक नेपाल राष्ट्र बैंकमा समेत काम गरिसकेका ज्ञवाली चार्टर्ड एकाउन्टेन्ट हुन् ।
१२. सिद्धार्थ बैंकले कर्मचारी माग गरेको छ । बैंकले एआई र एमएल इन्जिनियरमा अफिसर, जूनियर अफिसर र सिनियर अफिसरका लागि पाँच जना र बिआई एनालिष्टमा ३ जना असिस्टेन्ट र सिनियर असिस्टेन्टका लागि गरी कुल ८ जना कर्मचारी माग गरेको हो । योग्यता पुगेका व्यक्तिहरूले असार ४ गतेभित्र आवेदन दिनसक्नेछन्।
१३. सरकारले अब घरजग्गा खरिद बिक्री गर्दा बैंक स्टेटमेन्ट अनिवार्य पेश गर्नुपर्ने भएको छ । घरजग्गा कारोबारमा अवैध रुपमा प्रयोग हुँदै आएको कालोधन नियन्त्रण गर्न सरकारले यस्तो व्यवस्था गरेको हो । खासगरी जग्गा किन्ने र बेच्ने दुवै जनाको बैंक स्टेटमेन्टसहित केवाइसी फारम भरी पेश गरेपछि मात्र लिखत पास हुने व्यवस्था लागू हुने भएको हो ।
१४. एनआईसी एशिया बैंकको सेयर एक बर्ष यताकै सस्तो बनेको छ । कम्पनीको गिर्दो प्रगति, अधिकांश सूचकहरुमा देखिएको गिरावट र लगानीकर्ताको विश्वासमा देखिएको कमीपछि सेयर लगानीकर्तासमेत आकर्षित नहुँदा कम्पनीको सेयर एक बर्ष यताकै सस्तो बनेको हो । नेप्सेले सार्वजनिक गर्ने तथ्यांकमा कम्पनीको सेयर मूल्य ५२ हप्ताकै कम बिन्दुमा आईपुगेको छ । कम्पनीको सेयर मूल्य बुधबार ३५५ रुपैयाँमा कारोबार भएर बन्द भएको छ । यो भनेको एक बर्ष यताकै कम मूल्य हो । गत एक बर्षमा कम्पनीको सेयर मूल्य ५७३ रुपैयाँसम्म पुगेको थियो । बैंकले बिगत केहि बर्षदेखि लगानीकर्ताको हात खाली पारिरहेको छ ।
१५. बैंक ग्यारेन्टी रकममा ठगी गरेको आरोप रमण कन्स्ट्रक्सनका संचालक पवन महतो पक्राउ परेका छन्। काठमाडौँ जिल्ला प्रहरी परिसरले महत्तोलाई मंगलबार काठमाडौँबाट पक्राउ गरेको हो। धनुषा जिल्ला प्रहरी कार्यालयले महत्तोविरुद्ध बैंकिङ कसुरसम्बन्धी उजुरीका आधारमा जेठ ६ गते जिल्ला अदालत धनुषाबाट पक्राउ पुर्जी जारी गरेपछि काठमाडौँ प्रहरीलाई पत्राचार गरेको थियो। त्यसपछि महत्तोलाई पक्राउ गरिएको हो।
१६. नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक किरण पण्डित बैंकको प्रवक्ता चुनिएका छन् । मिति २०८२ जेठ २१ देखि लागू हुने गरी उनी बैंकको प्रवक्ता चुनिएका हुन् । २०६२ सालमा बैंक सेवामा प्रवेश गरेका पण्डितको बैंक सुपरिवेक्षण विभाग, बैंक तथा वित्तीय संस्था नियमन विभाग, वित्तीय समावेशिता तथा ग्राहक संरक्षण महाशाखा लगायतको कार्यानुभव रहेको छ । हाल उनी भुक्तानी प्रणाली विभागमा कार्यरत छन् ।
१७. नेपाल राष्ट्र बैंकका कर्मचारीले तालिमका नाममा लाखौं असुल्ने गरेको खुलासा भएको छ । राष्ट्र बैंकका उच्च पदस्थ कर्मचारीहरूले नियमनमा रहेका बैंक तथा वित्तीय संस्थाहरूसँग तालिमको नाममा घण्टाको ५० हजारदेखि २ लाख रुपैयाँसम्म असुल्ने गरेको खुलासा भएको हो ।
१८. अनधिकृत रुपमा बैंक खाता खोल्ने र रकम भुक्तानी गर्नेलाई राष्ट्र बैंकले कार्वाही गर्ने भएको छ । मंगलबार एक सूचना जारी गर्दै राष्ट्र बैंकले यस्तो जानकारी गराएको हो। यसका बाबजुत पनि कसैले त्यस्ता कुनै कसुर गरेमा बिगो भराइ बिगोबमोजिम जरिवाना र ३ महिनासम्म कैद सजायसमेत हुन सक्ने चेतावनी राष्ट्र बैंकले दिइको छ ।
१९. नेपाली कांग्रेसका सांसद पूर्णबहादुर तामाङले वाणिज्य बैंकको पुँजी घटाउनुपर्ने धारणा राखेका छन् । बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ लाई संशोधन गर्न बनेको विधेयकको छलफल कार्यक्रममा बोल्दै उनले वाणिज्य बैंकको पुँजी ५ अर्बमा झार्नुपर्ने धारणा राखेका हुन् ।
२०. कर्णाली बैंकका तत्कालीन अध्यक्ष राजेन्द्र वीर रायलाई ७ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ । बाँके जिल्ला अदालतले ७ दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको हो ।
२१. कर्णाली डेभलपमेन्ट बैंक घोटालामा पक्राउ परेका बैंकका तत्कालीन अध्यक्ष राजेन्द्रवीर राय नेकपा एमालेका नेता रहेको तथ्य बाहिरिएको छ । बैंकको करिव २ अर्ब ५० करोड रुपैयाँ हिनामिना गरेको प्रमाण फेला परेपछि पक्राउ परेका राय नेकपा एमालेका तर्फबाट टिकटसमेत पाएर चुनाव लडेका तर चुनाव हारेका नेता रहेको तथ्य बाहिरिएको हो ।
२२. देशमा राजा फर्काउने कुरा चलिरहेका बेला नेकपा एमाले सांसद सुर्यबहादुर थापाले नेपाली नोटहरुमा पृथ्वीनारायण शाह र गौतम बुद्धको तस्वीर राख्न गभर्नरलाई सुझाव दिएका छन् । यसरी शाह र बुद्धको तस्विर राख्दा नेपाली नोटको महत्व बढ्ने भन्दै थापाले यस्तो सुझाव दिएका हुन् । उनले आफु राजावादी भने नभएको प्रष्ट पारेका छन् ।
२३. नेपाल राष्ट्र बैंकका गभर्नर डा। विश्वनाथ पौडेल बैंक र व्यवसायी छुट्याउदा भुइँचालो आउन सक्ने तर त्यसका लागि सबै तयार रहनुपर्ने बताएका छन् । अहिले अधिकांश बैंकका अध्यक्ष नेपालका चर्चित व्यापारी छन् । जुन नीति परिवर्तन गर्ने तयारी हुँदैछ ।
२४. यातायात व्यवसायीहरुको आन्दोलनका कारण बैंकका कर्मचारीसहित अफिस जानेहरु महँगो भाडा तिरेर इण्ड्राइभ र पठाओजस्ता राइड सेयारिंग एपमा अफिस जान बाध्य भएका छन्। यसरी अफिस जाँदा कतिपय जुनियर कर्मचारीको त सो दिन आउने तलव भन्दा बढी पठाओ र इण्ड्राइभमा खर्च भएकोसमेत पाइएको छ ।
२५. बैंकको जागिर छोडेर पठाओ र इण्ड्राइभ गर्नेहरुसमेत भेटिन थालेका छन् । बैंकको तल्लो तहमा काम गर्नुभन्दा पठाओ राइडर बन्न फाइदा देखेपछि कतिपयले बैंकको जागिर नै छोडेर पठाओ राइडरको काम गरिरहेको पाइएको हो ।
२६. एनआईसी एशिया बैंकको नक्कली बैंक स्टेटमेन्ट बनाउने गिरोहलाई प्रहरीले पक्राउ गरेको छ । विदेश जाने प्रयोजनका लागि बैंकको स्टेटमेन्ट नै नक्कली बनाउनेलाई पक्राउ गरिएको सम्भवत यो पहिलोपटक हो । यसअघि नक्कली नोटमा एनआईसी एशिया बैंकको ट्याग सहित प्रहरीले केहिलाई पक्राउ गरेको थियो ।
२७. पूर्व अर्थमन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले साना ऋणीहरुलाई बैंकले दुख दिने गरेको बताएका छन् । अर्थ समितिको बैठकमा भएको बाफियामाथिको छलफलमा बोल्दै उनले बैंकबाट थोरै ऋण लिएर उद्यम गर्छु भन्नेहरुलाई बैंकहरुले विभिन्न बाहनामा दुःख दिने गरेको दुखेसो पोखेका हुन् ।
२८. अर्थ समितिका सभापति सन्तोष चालिसेले विधि पुर्याउने नाममा बैंकहरुले ऋणीलाई दुःख दिने गरेको भन्दै यसतर्फ राष्ट्र बैंकले एक्सन लिनुपर्ने बताएका छन् । अर्थ समितिको बैठकमा बोल्दै उनले यस्तो बताएका हुन् । काम गर्न चाहानेलाई सहज रुपमा बैंकले ऋण दिनुपर्नेतर्फ पनि उनले जोड दिएका छन् ।
२९. अर्थ समितिका सभापति सन्तोष चालिसेले सर्टिफिकेट धितो राखेर बैंकहरुले ऋण दिनुपर्ने बताएका छन् । अन्य देशहरुमा पनि यस्तो व्यवस्था भएको बताउँदै उनले यस विषयमा राष्ट्र बैंकले सोच्नुपर्ने बताएका हुन् ।
३०. रेष्टुरेण्टहरुमा फ्री वाइफाइ चलाउनेहरुले अब सतर्क हुनुपर्ने भएको छ ।यसरी फ्री वाइफाइ चलाउँदा बैंक खाता नै रित्तो पारिदिनेगरी ह्याकरहरु सकृय भएको पाइयेको छ । फ्री वाइफाइका नाममा मोबाइलको विवरण नियन्त्रणमा लिएर पैसा चोरिने गरेको खुलासा भएसँगै फ्री वाइफाइ चलाउनेहरु होसियार हुनुपर्ने भएको हो ।
३२. छिमेकीको वाइफाइ चोरेर चलाउनेहरुले सतर्क बन्नुपर्ने भएको छ । यसरी सजिलो पासवोर्ड राखियेको वाइफाइ चलाउँदा छिमेकीले नै बैंक खाताको सबै रकम रित्तो बनायेको भन्दै प्रहरीमा उजुरी परेपछी वाइफाइका नाममा हुने गरेको ठगी धन्दाबारे तथ्य बाहिर आएको हो ।
३३. एनआइसी एशिया बैंकले बर्षौँ नचलायेको खातामा पनि मोबाइल बैंकिङ र कार्डको नविकरण भन्दै पैसा काटिरहेको खुलासा भएको छ । बैंकमा खाता खोलेर कारोबार नै नगर्दा पनि रकम काटियेर उल्टै बैंकलाई तिर्नुपर्ने देखिन थालेपछी ग्राहक हैरान भएका हुन् ।
३४. ग्लोबल आइएमई बैंकमा कारोबार गर्नेहरुले अब सचेत हुनुपर्ने भएको छ । बैंकमा दिनहुँजसो नक्कली नोट भेटिन थालेपछी ग्राहकहरु सचेत हुनुपर्ने देखिएको हो ।
३५. ग्लोबल आइएमई बैंकले सामाजिक उत्तरदायित्वका नाममा बैंकको रकम दुरुपयोग गरेको पाइयेको छ । सामाजिक उत्तरदायित्व अन्तरगत नपर्ने काममा खर्च गरेर बैंकले सामाजिक उत्तरदायित्व भनी खर्च देखायेको भेटिये पछि नियामक नेपाल राष्ट्र बैंकले त्यस्तो रकम सामाजिक उत्तरदायित्व मान्न नसकिने भन्दै प्रष्ट पारेको छ ।
३६. ग्लोबल आइयेमई बैंकका कतिपय सिनियर कर्मचारीले बैंकको तलव खायेर बैंकका अध्यक्ष चन्द्र ढकालका अन्य व्यवसायिक र व्यक्तिगत काम गरिरहेको पाइयेको छ । पब्लिक कम्पनीको तलव खायेर बैंकका कर्मचारीले अध्यक्षको व्यक्तिगत काममा समय खर्छ गरिरहेको पाइयेको हो ।
३७. नेपाल लाइफ इन्स्योरेन्समा गरियेको बीमा सरेन्डर गर्नेहरुको संख्या ह्वात्तै बढेपछी कम्पनीले त्यस्तो डाटा नै सार्वजनिक नगर्न विभिन्न माध्यममार्फत नियामक नेपाल बीमा प्राधिकरणलाई दबाब दिईरहेको पाइयेको छ । बीमा प्राधिकरणका कर्मचारीका अनुसार नेपाल लाइफले चौतफी दबाब दिएपछि प्राधिकरणले पनि नेपाल लाइफकै चाहाना अनुसार सरेन्डरको कम्पनी विवरण लुकाउने तयारी गरेको छ ।
३८. एनआईसी एशिया, ग्लोबल आईएमई बैंकसहित केहि बैंकका कर्मचारीले बैंकको काम नै छोडेर ठुलो परिमाणमा सेयर कारोबार गर्ने गरेको खुलासा भएको छ । बैंकका कर्मचारी सेयर बजारमा व्यस्त हुँदा आफ्नो काम नै ढिलो हुने गरेको गुनासो ग्राहकहरुले गर्न थालेपछि यो विषय बाहिर आएको हो । सेयर कारोबार ११ बजे देखि ३ बजेसम्म अर्थात कार्यालय समयभित्रै हुने गरेको छ । कतिपय बैंकरहरुले खाजा समयको सदुपयोग गरेरसमेत सेयर कारोबार गरिरहेका छन् । तर एनआईसी एशिया बैंकसहितका केहि कर्मचारीले भने काम नै प्रभावित हुनेगरी सेयर कारोबार गरिरहेको गुनासो बढेपछि स्वयम् बैंकले यस विषयमा कर्मचारीलाई सचेत गराएको पाइएको छ ।
३९. कर्णाली डेभलपमेन्ट बैंकमा बचतकर्ताको अरवौं नियमितता गरेर नेपालबाट भागी भारतको लखनउमा फ्ल्याट भाडामा लिएर नक्कली नाम लिएर बसेका बैंकका तत्कालीन अध्यक्ष पक्राउ परेका छन् । पक्राउ परेका राजेन्द्र बीर यादवलाई प्रहरीले पक्राउ गरेर थप अनुसन्धान गरिरहेको छ ।
४०. कर्णाली डेभलपमेन्ट बैंकका तत्कालीन अध्यक्ष राजेन्द्र बीर यादवले बैंकमा ऋण लिन आउनेको जग्गा हडपेर लेख्न पढ्न नजान्ने, र बैंकमै काम गर्ने सोझासाझा कर्मचारीका नाममा नामसारी गरी महँगो ब्याजमा कर्जा दिने र हडपेको सोही जग्गा बैंकमा राखेर जग्गाको ओभरभ्यालुयेसन गरी ऋण लिएर अपचलन गर्ने गरेको भेटिएको छ । पक्राउ परेका अध्यक्षले यो हदसम्मको बदमासी गरेको पाइएको हो ।
४१. जेठ १९ गतेदेखि सार्वजनिक यातायात नचलाउजे अडान यातायात व्यवसायीहरुले गरेपछी सो दिन कलेज, अफिस आउने जाने र अन्य कामका लागि सार्वजनिक यात्रा गर्नेहरुका लागि अफ्ट्यारो हुने भएको छ । सार्वजनिक यातायात नचल्ने भएपछि कार्यलत आवतजावत गर्ने आफ्ना साधन नभएका बैंकरहरु पनि मर्कामा पर्ने भएका छन् ।
४२. र्घाखाँचीमा पसलबाट सामान किनेर क्युआरकोडमार्फत रकम भुक्तानी गर्ने भन्दै फरार रहेका एक व्यक्ति पक्राउ परेका छन्। सन्धिखर्क नगरपालिका वडा नं। १ स्थित घिमिरे किराना पसलबाट करिब ३७ हजार ७ सय रुपैयाँ बराबरको सामान लिएर क्युआरकोडबाट पैसा तिर्छु भनेर सम्पर्कविहीन भएका मालारानी गाउँपालिका वडा नं। ४ का सुवास पोखरेललाई प्रहरीले पक्राउ गरेको हो।प्रहरीले उनको साथबाट १० थान भरेका ग्यास सिलिन्डर, ० किलोका ८ बोरा चिनी लगायतका विभिन्न सामान बरामद गरेको जनाएको छ।
४३. पछिल्लो समय बैंक तथा वित्तीय संस्थाहरू ऋण असुलीमा केन्द्रित भएका छन्। बैंकले आफ्ना ब्यालेन्स सिटहरू राम्रो देखाउन ऋण असुलीमा विशेष ध्यान दिन थालेका बुझीएको छ। यद्यपि ब्याजदर घटाएको भएता पनि कर्जा प्रवाहमा अपेक्षित वृद्धि देखिएको छैन।
४४. भारतको सेन्ट्रल बैंक अफ इन्डियाले बीमा क्षेत्रमा प्रवेश गर्दै फ्युचर जनराली इन्डिया इन्स्योरेन्स कम्पनी लिमिटेडमा २४.९१ प्रतिशत हिस्सा किनेको छ। यसका लागि बैंकले ४५१ करोड भारतीय रुपैयाँ (करिब ७२ अर्ब नेपाली रुपैयाँ) खर्च गरेको हो।बैंकले यो हिस्सेदारी आर्थिक संकटमा परेको फ्युचर इन्टरप्राइजेज लिमिटेडबाट किनेको हो। जुन कम्पनी दिवालिया प्रक्रिया अन्तर्गत रहेको छ।
४५. एक्सेल डेभलपमेन्ट बैंकले कर्मचारी माग गरेको छ। बैंकले एक सूचना जारी गर्दै ब्रान्च म्यानेजर १० जना, सेमी क्यालीफाइड सीए ४ जना, रिलेसन्सीप म्यानेजर र ट्रेनी असिस्टेन्ट पदका लागि कही संख्यामा कर्मचारी माग गरेको हो ।इच्छुक व्यक्तिहरुले असार ४ गतेभित्र आवेदन दिन सक्नेछन् ।
४६. पतञ्जलि जग्गा प्रकरणमा हाकिमले भनेको मान्दा १४ हजारको जागिर खाने लक्ष्मी सनराइज बैंकको जुनियर ट्रेनी पनि फसेका छन्। कानुनले व्यवहार नहेर्दा उनीहरू फसेका हुन्। त्यस्तै, बैंककी जुनियर म्यानेजमेन्ट ट्रेनी एशु मैनालीलाई पनि प्रतिवादी बनाइएको छ ।
४७. पूर्व बैंकर निता प्रधानविरुद्ध भ्रष्टाचार मुद्धा दर्ता भएको छ। अख्तियार दुरूपयोग अनुसन्धान आयोगले पतंजली जग्गा हिनामिना प्रकरणमा उनीविरुद्ध विशेष अदालत काठमाडौँमा मुद्दा दायर गरेको हो । उनलाई तत्कालीन सनराइज बैंकबाट ऋण दिँदा ‘मतियार’ बनेको आरोप लागेको छ।
४८. पूर्व बैंकर रविन नेपाल विरुद्ध भ्रष्टाचार मुद्धा दर्ता भएको छ। पतञ्जलि जग्गा सट्टा(पट्टा प्रकरणमा पूर्व बैंकर रविन नेपालसहित ९३ जना विरुद्ध भ्रष्टाचार मुद्धा दर्ता भएको हो। उनीविरुद्ध भ्रष्टाचारको मुद्धा दर्ता भएसँगै एसिटीको अध्यक्ष पदबाट निलम्बन हुने भएका छन्।
४९.भारतको सेन्ट्रल बैंक अफ इन्डियाले बीमा क्षेत्रमा प्रवेश गर्दै फ्युचर जनराली इन्डिया इन्स्योरेन्स कम्पनी लिमिटेडमा २४.९१ प्रतिशत हिस्सा किनेको छ। यसका लागि बैंकले ४५१ करोड भारतीय रुपैयाँ (करिब ७२ अर्ब नेपाली रुपैयाँ) खर्च गरेको हो। बैंकले यो हिस्सेदारी आर्थिक संकटमा परेको फ्युचर इन्टरप्राइजेज लिमिटेडबाट किनेको हो। जुन कम्पनी दिवालिया प्रक्रिया अन्तर्गत रहेको छ।