काठमाडौं । नेपाल एसबिआई बैंक लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत कास्कीको पोखरा महानगरपालिका-२५ स्थित श्री बालकल्याण आधारभूत विद्यालयका सबै विद्यार्थीहरूलाई स्कुल ब्याग र शैक्षिक सामग्री प्रदान गरेको छ।
विद्यालयमा आयोजित एक विशेष कार्यक्रममा बैंकका प्रबन्ध संचालक तथा प्रमुख कार्यकारी अधिकृत राम कुमार तिवारीले विद्यालय व्यवस्थापन समितिका अध्यक्ष र प्रधानाध्यापकलाई सहयोग सामग्री हस्तान्तरण गरे।
कार्यक्रममा बैंकका नायब प्रमुख कार्यकारी अधिकृत तथा प्रमुख वित्तीय अधिकृत राजेश कुमार पंडा, प्रमुख सञ्चालन अधिकृत विकास आनन्द, प्रमुख जोखिम तथा अनुपालन अधिकृत विष्णुदेव यादव, सहायक महाप्रबन्धक अर्जुन नेपाल, प्रमुख कर्जा अधिकृत रोशन कोइराला लगायत विद्यालय र बैंकका अन्य पदाधिकारीहरूको उपस्थिति रहेको थियो।
नेपाल एसबिआई बैंकले शिक्षा क्षेत्रमा सामाजिक सहयोगका कार्यक्रमहरू नियमित रूपमा सञ्चालन गर्दै आएको छ। ३१ वर्षदेखि सेवा दिँदै आएको बैंकले हाल १०० शाखा, २२ एक्स्टेन्सन काउन्टर, १८ शाखा रहित बैंकिङ सेवा, ७ प्रादेशिक कार्यालय, १२५ एटिएम र १ कर्पोरेट कार्यालयमार्फत देशभर सेवा प्रदान गरिरहेको छ।


