काठमाडौं । पछिल्लो समय बैंकिङ क्षेत्रमा कर्जा लगानी र निक्षेप संकलन सुस्त भएको चर्चा चलिरहेका बेला नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांकले त्यसलाई खारेज गर्दै सुधारको संकेत दिएको छ।
राष्ट्र बैंकका अनुसार, चालु आर्थिक वर्ष २०८१/८२ को पहिलो नौ महिनामा (साउनदेखि चैत मसान्तसम्म ) बैंक तथा वित्तीय संस्थाहरूले ३ खर्ब ६१ अर्ब रुपैयाँ बराबरको कर्जा प्रवाह गरेका छन्, जुन अघिल्लो वर्षको सोही अवधिको तुलनामा ७.१५ प्रतिशतले वृद्धि भएको हो।
त्यस्तै, सोही अवधिमा ३ खर्ब ६८ अर्ब रुपैयाँको निक्षेप संकलन भएको छ, जुन अघिल्लो वर्षको तुलनामा ५.७५ प्रतिशतले बढी हो। हालसम्म बैंकिङ प्रणालीमा कूल कर्जा प्रवाह ५५ खर्ब रुपैयाँ र निक्षेप संकलन ६८ खर्ब रुपैयाँ नाघिसकेको छ।
यस अवधिमा ११ खर्ब ९१ अर्ब रुपैयाँ बराबरको विप्रेषण भित्रिएको छ, जुन अघिल्लो वर्षको तुलनामा १० प्रतिशतले बढी हो । विप्रेषण आप्रवाहको स्थिरता र विदेशी मुद्रा सञ्चिति बलियो रहँदा भुक्तानी सन्तुलन पनि सकारात्मक देखिएको राष्ट्र बैंकले जनाएको छ।
विशेषज्ञहरूका अनुसार जलविद्युत्, पर्यटनजस्ता ठूला परियोजनामा कर्जाको माग बढिरहेको छ भने साना तथा मझौला व्यवसायहरूले कर्जा लिने गति भने अझै अपेक्षाअनुसार बढ्न सकेको छैन।
राष्ट्र बैंकले सार्वजनिक गरेको समष्टिगत सूचकहरूले समग्र अर्थतन्त्र सुदृढ बन्दै गएको र बैंकिङ प्रणालीमा स्थायित्व फर्कंदै गरेको संकेत देखिएको छ।