काठमाडौं । नबिल बैंक र भारतको प्रतिष्ठित अपोलो अस्पतालको प्रतिनिधि संस्था अपोलो इन्फर्मेसन सेन्टरबीच समझदारीपत्रमा हस्ताक्षर भएको छ। उक्त सम्झौतामार्फत नबिल बैंकका ग्राहक, कर्मचारी र सेयरधनीहरूले भारतको अपोलो अस्पतालमा उपचार गर्दा विशेष छुट तथा परामर्श सेवा प्राप्त गर्न सक्नेछन्।
बैंकका प्रमुख बजार अधिकृत कृष्णप्रसाद सुवेदी र अपोलो इन्फर्मेसन सेन्टरका प्रबन्ध निर्देशक सुशीलकुमार चापागाईंले समझदारीमा हस्ताक्षर गरेका हुन्। समझदारीअनुसार, नबिल बैंकका सेवाग्राहीहरूले अपोलो अस्पतालमा उपचार गराउँदा १० प्रतिशतसम्म छुट र व्यक्तिगत परामर्श सेवा पाउने छन्।
सुवेदीले उक्त सहकार्यले नबिल बैंकका ग्राहकलाई सहज रूपमा गुणस्तरीय स्वास्थ्य सेवा लिन सहयोग गर्ने बताए। उनले भने, ‘ नेपालबाट धेरै नागरिक उपचारका लागि भारत जाने गर्छन्। यो समझदारीले उनीहरूलाई सुविधा र सहुलियत दिनेछ।’
समझदारी अन्तर्गत, ग्राहकले बैंकका डेबिट वा क्रेडिट कार्ड, नबिल क्यूआर, नबिल स्मार्ट मोबाइल एप वा बैंक ट्रान्सफरमार्फत भुक्तानी गर्दा छुट प्राप्त गर्न सक्नेछन्। सम्झौता दुई वर्षसम्म लागू हुने बताइएको छ।
नबिल बैंक हाल देशभर २६८ शाखा र ३२० एटीएममार्फत २४ लाखभन्दा बढी सेवाग्राहीलाई सेवा दिँदै आएको छ।