काठमाडौँ। नेपाली कांग्रेसका वरिष्ठ नेता डा. शेखर कोइरालाले वर्तमान सरकारप्रति कडा असन्तोष प्रकट गर्दै सरकार संविधानविपरीत गतिविधिमा संलग्न भएको आरोप लगाएका छन्। प्रेस युनियन नवलपुरद्वारा नवलपुरको कावासोतीमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले यस्तो आरोप लगाएका हुन्।
डा. कोइरालाले नेपालको केन्द्रीय बैंक, नेपाल राष्ट्र बैंकको गभर्नर पद रिक्त रहँदा पनि सरकारले समयमै नयाँ नियुक्ति नगरेकोप्रति चिन्ता व्यक्त गरेका छन् । उनले भने, ‘संविधान अनुसार गभर्नरको कार्यकाल समाप्त हुनुअघि नै नयाँ गभर्नरको नियुक्तिको प्रक्रिया अघि बढाइ सक्नुपर्ने हो। तर, हालको अवस्थामा गभर्नरको कार्यकाल सकिएको दुई महिना नाघिसक्दा पनि नयाँ नियुक्तिको प्रक्रिया अघि नबढ्नु संविधानको स्पष्ट उल्लंघन हो। सरकारले संविधान मिच्दै यस्तो गैर-जिम्मेवार रवैया देखाउनु नै सुशासन नदिने प्रमाण हो।”
पत्रकार सम्मेलनमा बोल्दै डा. कोइरालाले हाल देशमा सरकार परिवर्तनको अनिश्चितता र अस्थिरताको अवस्था उत्पन्न भएको पनि बताए। उनका अनुसार दुईदुई महिनामै सरकार परिवर्तन हुने स्थिति सिर्जना भएपछि कांग्रेस एमालेसँग गठबन्धन गर्न बाध्य भएको हो।
उनले राजनीतिक अस्थिरता र दलहरूबीचको अस्वस्थ प्रतिस्पर्धाले विकास र जनताको हितमा प्रतिकूल असर परेको उल्लेख गरे। उनले सरकारलाई शीघ्र संविधान अनुरूप काम गर्न, गभर्नर नियुक्तिको प्रक्रिया अघि बढाउन र राजनीतिक अस्थिरता अन्त्य गर्न आग्रह गरेका छन् ।