DISH HOME

गोर्खाज फाइनान्सको सिइओमा ज्ञानेन्द्र इवाहाङ नियुक्त, वैशाख २१ गतेदेखि चार वर्षे कार्यकालको सुरुवात

काठमाडौँ। गोर्खाज फाइनान्सको प्रमुख कार्यकारी अधिकृत (सिइओ) पदमा ज्ञानेन्द्र इवाहाङ नियुक्त भएका छन् । फाइनान्सको वैशाख १७ गते सम्पन्न सञ्चालक समितिको बैठकले सर्वसम्मत निर्णय गर्दै इवाहाङलाई सिइओमा नियुक्त गरेको हो।

यही बैठकमार्फत उनलाई कम्पनी सचिवको जिम्मेवारी समेत दिइएको कम्पनीले जनाएको छ। ज्ञानेन्द्र इवाहाङले अब कम्पनीको कार्यकारी नेतृत्व सम्हाल्दै गोर्खाज फाइनान्सको समग्र व्यवस्थापन, सञ्चालन, रणनीतिक योजना, र संस्थागत विकासमा महत्वपूर्ण भूमिका निर्वाह गर्नेछन्। कम्पनीका अनुसार उनको नियुक्ति वैशाख २१ गतेदेखि औपचारिक रूपमा लागू हुनेछ र आगामी चार वर्षको अवधि सम्म उनले सीईओको जिम्मेवारी सम्हाल्नेछन्।

इवाहाङ वित्तीय क्षेत्रका एक अनुभवी तथा कुशल व्यवस्थापकका रूपमा चिनिन्छन्। विगत दुई दशकभन्दा बढी समयदेखि उनी नेपाली वित्तीय क्षेत्रमा संलग्न रहँदै आएका छन्। विभिन्न बैंक तथा वित्तीय संस्थामा नेतृत्वदायी भूमिका निभाइसकेका उनले व्यवस्थापन, रणनीतिक विकास, संस्थागत सुधार तथा डिजिटल वित्तीय सेवा प्रवर्द्धनमा विशिष्ट योगदान पुर्याएका छन्।

गोर्खाज फाइनान्सले इवाहाङको नियुक्तिबाट कम्पनीको संस्थागत स्तरमा थप सुदृढता आउने र प्रतिस्पर्धात्मक वित्तीय बजारमा अझ बलियो उपस्थिति जनाउने विश्वास लिएको जनाएको छ। कम्पनीले जारी गरेको प्रेस विज्ञप्तिमा भनिएको छ, ‘इवाहाङ जस्तो अनुभवी नेतृत्व पाउनु कम्पनीका लागि सौभाग्यको विषय हो। उनीसँगको सहकार्यमा हामी संस्थाको दीर्घकालीन लक्ष्यहरू हासिल गर्ने दिशामा अग्रसर हुनेछौँ।’

साथै, कम्पनीले हालका आर्थिक र प्राविधिक चुनौतीहरूको सामना गर्दै नयाँ नेतृत्वसँग मिलेर नवप्रवर्तनात्मक वित्तीय सेवा प्रवाह गर्ने, ग्राहक सन्तुष्टिलाई उच्च प्राथमिकता दिने, र नियामक निकायको निर्देशनअनुसार सुशासनलाई पालन गर्ने प्रतिबद्धता व्यक्त गरेको छ।

HIMALAYAN LIFE
Shangrila Dev Bank

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै