काठमाडौं । पछिल्लो समय बैंकिङ प्रणालीमा ५ अर्ब रुपैयाँ निक्षेप वृद्धि भएको छ। नेपाल राष्ट्र बैंकको वैशाख ८ र ९ गतेको तथ्यांकअनुसार एकैदिन ५ अर्ब रुपैयाँले निक्षेप वृद्धि भएको देखिएको हो । वैशाख ८ गतेसम्म बैंकिङ प्रणालीमा ६८ खर्ब २९ अर्ब रुपैयाँ निक्षेप संकलन भएकोमा ९ गते भने ६८ खर्ब ३४ अर्ब रुपैयाँ पुगेको छ।
यस अवधिमा वाणिज्य बैंकहरूको निक्षेपमा पनि समान रूपमा ५ अर्ब रुपैयाँको वृद्धि भएको छ। वैशाख ८ गते ६० खर्ब ९६ अर्ब रुपैयाँ निक्षेप रहेकोमा ९ गते भने बढेर ६१ खर्ब १ अर्ब रुपैयाँ पुगेको छ।
त्यस्तै, बैंकहरूको कर्जा लगानी पनि १ अर्ब रुपैयाँले बढेको छ। वैशाख ८ गते ५५ खर्ब ५ अर्ब रुपैयाँ कर्जा लगानी गरिएको थियो भने वैशाख ९ गते यो रकम ५५ खर्ब ६ अर्ब रुपैयाँमा पुगेको छ। वाणिज्य बैंकहरूको कर्जा लगानीमा पनि १ अर्ब रुपैयाँको वृद्धि देखिएको छ।
यस अवधिमा बैंकिङ प्रणालीको सिडी रेसियो (कर्जा–निक्षेप अनुपात) घटेर ७९. ३५ प्रतिशतमा झरेको छ भने अन्तर बैंक ब्याजदर ३ प्रतिशत कायम रहेको केन्द्रीय बैंकले जनाएको छ।