समस्याग्रस्त कर्णाली डेभलपमेन्ट बैंकका ३५ जना सेयरधनीको सेयरपुँजी घटाउँदै नेपाल राष्ट्र बैंक

काठमाडौँ। कर्णाली डेभलपमेन्ट बैंकका सेयरधनीको सेयरपुँजी घट्ने भएको छ। नेपाल राष्ट्र बैंकले समस्याग्रस्त कर्णाली डेभलपमेन्ट बैंकका ३५ जना सेयरधनीको सेयरपुँजी घटाउने भएको हो।

बैंकको चुक्तापुँजी क्षय भएको तथा सम्पत्तिले दायित्व धान्न नसक्ने अवस्था देखिएपछि राष्ट्र बैंकले बैंकको पुनर्संरचना प्रक्रियाअन्तर्गत सेयरपुँजी घटाउने निर्णय गरेको हो।

राष्ट्र बैंकका अनुसार सेयरधनीले चुक्ता हुनुपर्ने सेयरपुँजीबापतको रकम अवैधानिक रूपमा चुक्ता गरेको देखिएकाले नेपाल राष्ट्र बैंक ऐन, २०५८ बमोजिम उनीहरूको सेयरपुँजी घटाएर साविकको एक प्रतिशत कायम गरिएको हो। राष्ट्र बैंकले २५ जना संस्थापक र १० जना सर्वसाधारण सेयरधनीको सेयरपुँजी घटाएको छ।

जस अनुसार उक्त संस्थापक सेयरधनीहरुको कुल २१ लाख ३६ हजार ६०.८४ कित्ता सेयरलाई घटाएर २१ हजार ३६०.६१ कित्ता कायम गरिएको छ।

त्यस्तै, १० जना सर्वसाधारण सेयरधनीको कुल १२ हजार ६८४.९८ कित्ता सेयर घटाएर १२६.८५ कित्ता कायम गरिने राष्ट्र बैंकले जनाएको छ।

सेयरपुँजी घटाई कम्पनी रजिस्ट्रारको कार्यालयमा अभिलेखीकरण गर्ने प्रक्रियाका लागि आगामी मंसिर ९ गते बिहान १० बजे उच्च अदालत तुलसीपुरमा सुनुवाइ तोकिएको छ।

HIMALAYAN LIFE
Banking Sansar Mobile App

प्रतिक्रिया दिनुहोस्