काठमाडौँ। कर्णाली डेभलपमेन्ट बैंकका पीडित बचतकर्ताहरूले आफ्ना मागको ठोस सम्बोधन नभए निर्णायक आन्दोलनमा उत्रिने चेतावनी दिएका छन्। कर्णाली डेभलपमेन्ट बैंक पीडित केन्द्रीय संघर्ष समितिले सामाजिक संजालमा लेख्दै यस्तो चेतावनी दिएका हुन्।

नेपाल राष्ट्र बैंकसमक्ष पटकपटक ज्ञापनपत्रमार्फत जायज माग राख्दै आए पनि हालसम्म मौखिक आश्वासनबाहेक बचत रकम फिर्ता गर्ने वा बैंकलाई पूर्ण रूपमा सञ्चालन गर्ने सम्बन्धमा स्पष्ट लिखित योजना, मापदण्ड, प्रस्ताव वा आधिकारिक प्रतिवेदन सार्वजनिक नभएको समितिले जनाएको छ।
समितिले अबको आन्दोलनलाई ‘निर्णायक’ बनाउने घोषणा गरेको छ। आन्दोलनअन्तर्गत बाँके, बर्दिया र दाङ जिल्लामा रहेका कर्णाली डेभलपमेन्ट बैंकका १९ वटै शाखाबाट पीडित बचतकर्ताको सहभागिता सुनिश्चित गर्ने तयारी गरिएको छ।
कर्णाली डेभलपमेन्ट बैंकका पीडित बचतकर्ता, लगानीकर्ता तथा सम्पूर्ण सरोकारवालालाई आन्दोलनमा एकताबद्ध हुन केन्द्रीय संघर्ष समितिले आह्वान गरेको छ।



