२ अर्ब १६ करोडभन्दा बढीको क्रिप्टो कारोबार गरेको आरोपमा सुनिल कुमार यादव पक्राउ

काठमाडौँ।  अवैध रूपमा क्रिप्टोकरेन्सी ( क्रिप्टो/युएसडिटि ) कारोबार गरेको तथा अनलाइन बेटिङमार्फत सट्टेबाजी खेल्ने र खेलाउने कार्यमा संलग्न रहेको आरोपमा प्रहरीले धनुषाका एक युवकलाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा धनुषा जिल्लाको सबैला नगरपालिका १२ स्थायी घर भएका २८ वर्षीय सुनिल कुमार यादव रहेका छन्।

प्रहरीका अनुसार नेपाल राष्ट्र बैंकको नीति तथा प्रचलित कानुनविपरीत विभिन्न विद्युतीय माध्यम तथा अनलाइन बेटिङ एप्लिकेसनमार्फत सट्टेबाजी हुने गरेको र अवैध रूपमा ठूलो परिमाणमा क्रिप्टोकरेन्सी कारोबार भइरहेको विशेष सूचनाका आधारमा अनुसन्धान अघि बढाइएको थियो।

प्रहरी टोलीले सूक्ष्म निगरानी तथा प्राविधिक विश्लेषणका आधारमा अनुसन्धान गर्दा यादव बाइनान्स मार्फत २ करोड ६९ लाख ९१ हजार ३८८.५० युएसडिटि बराबरको कारोबारमा संलग्न रहेको खुलेको जनाएको छ। प्रहरीले उल्लेख गरेको विनिमय दरअनुसार उक्त कारोबारको नेपाली मूल्य करिब २ अर्ब १६ करोड १ लाख २० हजार ८२१ रुपैयाँ हुन आउँछ।

जिल्ला प्रहरी कार्यालय धनुषाको समन्वयमा यादवलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ। उनीमाथि मुलुकी अपराध संहिता, २०७४ को परिच्छेद-५ अन्तर्गत दफा १२५ (जुवा खेल्न वा सट्टेबाजी गर्न नहुने) तथा दफा २६२(क) (१) (अभौतिक मुद्राको प्रयोग गर्न नहुने) अन्तर्गत अनुसन्धान भइरहेको छ। प्रहरीका अनुसार यादवलाई काठमाडौं जिल्ला अदालत, बबरमहलबाट म्याद थप गरी आवश्यक अनुसन्धान तथा कानुनी कारबाही अघि बढाइएको छ।

HIMALAYAN LIFE
Banking Sansar Mobile App

प्रतिक्रिया दिनुहोस्