काठमाडौँ। नेपाल राष्ट्र बैंकले सार्वजनिक बिदाका दिनमा समेत अत्यावश्यक बैंकिङ सेवा सञ्चालन गर्न निर्देशन दिएको छ। रसुवाको भोटेकोशी क्षेत्रमा आएको विनाशकारी बाढीपछि राहत, उद्धार तथा प्रभावित नागरिकलाई आर्थिक पहुँच सहज बनाउन राष्ट्र बैंकले सार्वजनिक बिदाका दिनमा समेत अत्यावश्यक बैंकिङ सेवा सञ्चालन गर्न बैंक तथा वित्तीय संस्थाहरूलाई निर्देशन दिएको हो ।
राष्ट्र बैंकको निर्देशनअनुसार बैंक तथा वित्तीय संस्थाहरूले शुक्रबारदेखि आइतबारसम्म बाढी प्रभावित क्षेत्र तथा आवश्यक स्थानमा अत्यावश्यक बैंकिङ सेवा उपलब्ध गराउनेछन्।
विपद्का कारण नियमित कारोबार प्रभावित हुन सक्ने अवस्थामा राहत तथा उद्धार कार्यमा आवश्यक वित्तीय कारोबार नरोकियोस् भन्ने उद्देश्यले सेवा निरन्तरता दिन भनिएको हो। बाढी प्रभावित नागरिकलाई रकम प्राप्त गर्न सहज बनाउने, राहत सामग्री खरिद तथा ढुवानीका लागि हुने भुक्तानीलाई सहजीकरण गर्ने र उद्धारमा परिचालित सरकारी तथा अन्य निकायलाई वित्तीय कारोबारमा अवरोध नहुने व्यवस्था मिलाउन राष्ट्र बैंकले जोड दिएको छ।
रसुवाको भोटेकोशी क्षेत्रमा आएको भीषण बाढीबाट टिमुरे, धुन्चे, मैलुङ, स्याफ्रुबेसी र बेत्रावतीलगायत क्षेत्रमा ठूलो जनधनको क्षति भएको छ। सूचनासहित:




