भोटेकोशी नदीमा आएको विनाशकारी बाढीपीडितलाई वित्तीय सहजीकरण गर्ने सिबिफिनको प्रतिबद्धता

काठमाडौँ। भाद्र १० गते भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट भएको जनधनको क्षतिप्रति बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) ले गहिरो दुःख व्यक्त गर्दै प्रभावित व्यक्ति, व्यवसाय तथा परियोजनालाई आवश्यक वित्तीय सहजीकरण गर्ने प्रतिबद्धता जनाएको छ।

सिबिफिनले बुधबार जारी गरेको प्रेस विज्ञप्तिमा बाढीमा परी ज्यान गुमाउनेहरूप्रति श्रद्धाञ्जली तथा शोकसन्तप्त परिवारप्रति समवेदना व्यक्त गर्दै बेपत्ता नागरिक, सुरक्षाकर्मी तथा बैंक तथा वित्तीय संस्थाका कर्मचारीको शीघ्र खोजी तथा उद्धारको अपेक्षा गरेको छ।

बाढीबाट बैंक तथा वित्तीय संस्थाका शाखा तथा अन्य बैंकिङ पूर्वाधारसँगै मानवीय बस्ती, जलविद्युत् आयोजना, सडक, पुल, व्यापारिक प्रतिष्ठान तथा केरुङ नाकाबाट भित्रिएका मालवस्तु र सवारीसाधनमा समेत ठूलो क्षति पुगेको सिबिफिनले जनाएको छ।

प्रभावित क्षेत्रमा जलविद्युत्, व्यापार, पर्यटन, पूर्वाधारलगायत व्यवसायमा बैंक तथा वित्तीय संस्थाको उल्लेख्य कर्जा तथा लगानी रहेकाले बाढीको असर ऋणी, व्यवसाय, बैंकिङ सेवा र समग्र आर्थिक गतिविधिमा पर्न सक्ने सिबिफिनको आकलन छ।

सिबिफिनका अनुसार प्रभावित क्षेत्रमा ग्राहकको बैंकिङ पहुँच यथाशीघ्र सहज बनाउन बैंक तथा वित्तीय संस्थाले वैकल्पिक सेवासहित आवश्यक प्रबन्ध गरिरहेका छन्। वास्तविक रूपमा प्रभावित व्यक्ति, व्यवसाय तथा परियोजनाको क्षतिको मूल्याङ्कन गरी आवश्यकताअनुसार कर्जा पुनर्तालिकीकरण वा पुनर्संरचना, किस्ता तथा ब्याज भुक्तानीमा सहजीकरण गरिने जनाएको छ।

HIMALAYAN LIFE
Banking Sansar Mobile App

प्रतिक्रिया दिनुहोस्