काठमाडौँ। सर्वोच्च अदालतले हिमालयन लाइफ इन्स्योरेन्सको सिइओ नियुक्ति प्रक्रिया तत्काल अगाडि नबढाउन आदेश दिएको छ। सर्वोच्च अदालतले हिमालयन लाइफ इन्स्योरेन्सको प्रमुख कार्यकारी अधिकृत (सिइओ) नियुक्ति प्रक्रिया तत्काल अगाडि नबढाउन अल्पकालीन अन्तरिम आदेश दिएको हो।
सर्वोच्च अदालतले हिमालयन लाइफ इन्स्योरेन्स लिमिटेडका प्रमुख कार्यकारी अधिकृत कपिलकुमार दाहालको पद तथा कार्यावधिसम्बन्धी विवादमा अन्तरिम आदेश जारी गरेको छ।
न्यायाधीश टेकप्रसाद ढुंगानाको एकल इजलासले दाहालले दायर गरेको उत्प्रेषणयुक्त परमादेशसम्बन्धी निवेदनमा सुनुवाइ गर्दै विपक्षी नेपाल बीमा प्राधिकरणसहित सम्बन्धित पक्षलाई लिखित जवाफ पेश गर्न आदेश दिएको हो। निवेदनमाथि प्रारम्भिक सुनुवाइ गर्दै अदालतले दाहालको नियुक्ति, कार्यावधि तथा पदबाट हटाउने विषयसँग सम्बन्धित निर्णय र प्रक्रियाबारे कारण देखाउन आदेश दिएको छ।
अदालतले विपक्षीका नाममा आदेश जारी गरी लिखित जवाफ पेश गर्न समयसमेत तोकेको छ।
अदालतको आदेशअनुसार दाहाल हिमालयन लाइफ इन्स्योरेन्सको प्रमुख कार्यकारी अधिकृत पदमा २०८२ साल कार्तिक १३ गते नियुक्त भएका थिए। निवेदनमा आफ्नो चार वर्षे कार्यावधि बाँकी रहँदै पद तथा जिम्मेवारीमा असर पर्ने गरी प्रक्रिया अघि बढाइएको दाबी गरिएको छ।
सर्वोच्चले मुद्दाको अन्तिम टुंगो नलागेसम्म दाहालको पद र कार्यावधिमा असर पर्ने गरी अघि बढाइएका कदमका सम्बन्धमा अन्तरिम संरक्षण आवश्यक रहेको ठहर गर्दै सम्बन्धित पक्षबाट लिखित जवाफ माग गरेको आदेशमा उल्लेख छ।
अब विपक्षी पक्षको लिखित जवाफ तथा थप सुनुवाइपछि दाहालको नियुक्ति र कार्यावधिसम्बन्धी विवादमा अदालतले थप निर्णय गर्नेछ। यो हेर्नुहोस्:




