काठमाडौँ। नेपाल राष्ट्र बैंकले डिजिटल वित्तीय अनुशासन सम्बन्धी सचेतना जारी गरेको छ। राष्ट्र बैंकले आफ्ना ग्राहकहरूलाई एक सूचना जारी गर्दै डिजिटल वित्तीय अनुशासनको पालना गर्न आग्रह गरेको हो।
डिजिटल प्रविधिको तीव्र विकाससँगै नेपालमा इन्टरनेट बैंकिङ, मोबाइल बैंकिङ, क्यूआर कोड भुक्तानी तथा डिजिटल वालेटको प्रयोग उल्लेखनीय रूपमा बढ्दै गएको छ। यी सेवामार्फत प्रयोगकर्ताले जुनसुकै स्थानबाट, जुनसुकै समयमा सुरक्षित र छिटो वित्तीय कारोबार गर्न सक्ने सुविधा प्राप्त गरेका छन्।
सहजता, कम लागत, सुरक्षित तथ्याङ्क व्यवस्थापन, इकमर्स तथा सरकारी सेवामा बढ्दो प्रयोगका कारण डिजिटल वित्तीय सेवाप्रति आम नागरिकको आकर्षण बढ्दो क्रममा रहेको छ। यद्यपि, डिजिटल माध्यमको सुरक्षित प्रयोगका लागि प्रयोगकर्ताले वित्तीय अनुशासन अपनाउनुपर्नेमा राष्ट्र बैंकले जोड दिएको छ।
बलियो तथा फरक-फरक पासवर्ड र पिन प्रयोग गर्ने, सबै खातामा मल्टी-फ्याक्टर अथेन्टीकेसन (पासवर्ड, पिन र OTP) सक्षम बनाउने, आधिकारिक वेबसाइट तथा एप्लिकेसन मात्र प्रयोग गर्ने, नियमित रूपमा पासवर्ड परिवर्तन गर्ने, अनधिकृत एप डाउनलोड नगर्ने, अपरिचित व्यक्तिसँग स्क्रिन सेयरिङ नगर्ने, सुरक्षित वाईफाईमार्फत मात्र वित्तीय कारोबार गर्ने तथा बायोमेट्रिक प्रमाणीकरणको प्रयोग बढाउने जस्ता उपाय अपनाउन सुझाव दिइएको छ।
साथै, सजिलै अनुमान गर्न सकिने पासवर्ड प्रयोग गर्ने, नक्कली वेबसाइट वा एपमार्फत पासवर्ड संकलन गर्ने, पासवर्ड क्रयाक गर्ने, एउटै पासवर्ड विभिन्न खातामा प्रयोग गर्ने तथा अन्य उपकरणमा प्रयोग भएको पासवर्ड दोहोर्याउने जस्ता गतिविधिबाट साइबर अपराधीहरूले वित्तीय सूचना चोरी गर्न सक्ने भएकाले नागरिकलाई डिजिटल साक्षरता र डिजिटल अनुशासन पालना गर्न सम्बन्धित निकायले आग्रह गरेका छन्। सूचनासहित:



