HIMALAYAN LIFE

१ करोडमा किनेको जग्गा सोहि दिन १७ करोड भ्यालुएसन, लगत्तै ७ करोड ऋण ! कुमारीको केसमा प्रभुको कनेक्सन !

काठमाडौँ । बैंकहरुले ऋण दिन कति धेरै प्रक्रिया पूरा गर्नुपर्छ र कतिसम्म समय लाग्छ भन्ने कुरा भोग्नेलाई थाहा छ । तर बैंकले चाहेमा जग्गा किनेकै दिन भ्यालुएसन गरी त्यसको अर्को ३ दिन भित्र ऋण निस्किन्छ र त्यसमा पनि किनेको मूल्यमा १५ गुणा बढी भ्यालुएसन हुन्छ भन्ने कुरा अचम्म लाग्न सक्छ । तर, त्यस्तै दुई घटना सतहमा आएका छन् । प्रभु बैंकको पछिल्लो घोटाला प्रकरणमा पनि सो घटनाका पात्रहरुको कनेक्सन देखिएको छ ।

गलत नेतृव हुँदा बैंकमा ऋणका नाममा केसम्म हुन्छ भन्ने देखाउने दुई घटनाको विवरण

पहिलो घटना तत्कालीन एनसीसी बैंक (हालको कुमारी) मा सीइओ रमेश राज अर्याल हुँदाको हो ।  कुमारी बैंकका  तत्कालीन सीइओ रमेश राज अर्यालको मिलेमतोमा १ करोड १७ लाख रुपैयाँमा किनेको जग्गा सोहि दिन १७ करोड भ्यालुएसन गरी त्यसको ३ दिन भित्र ३ करोड र ३ करोड दिएको ११ दिनपछि अर्को ४ करोड गरेर कुल ७ करोड ऋण दिएको र सो ७ करोडमा पनि ५ करोड अपचलन भएको दाबी गरिएको छ । राष्ट्र बैंकमा बुझाइएको निवेदनमा  कम्पनी डिएनएस इन्भेष्टमेन्ट प्रालिलाई बैंकका तत्कालीन सीइओ रमेश राज अर्यालको मिलेमतोमा करोडौँको ऋण दिईएको दाबी गरिएको छ ।

दोश्रो घटना पनि हालको कुमारी अर्थात तत्कालीन एनसीसी बैंकमा रमेश राज अर्याल हुँदाकै बेलाको हो । अर्याल सीइओ हुँदा बैंकले कुमारी बिल्डर्स नामक कम्पनीलाई  १ करोड ५ लाख ९० हजार रुपैयाँमा किनेको जग्गालाई जग्गा किनेको भोलिपल्टै १३ करोड २६ लाख २५ हजार ७ करोड ६२ लाख रुपैयाँ ऋण दिएको थियो । यसरी दिइएको ऋण नउठेपछि बैंकले तत्कालीन अवस्थामा सो ऋणीलाई कालोसूचीमासमेत राखेको थियो ।

पछि सो जग्गा खरिद गर्नका लागि इण्टरनेशनल क्लबको नाममा पुन महालक्ष्मी बिकास बैंकबाट १६ करोड कर्जा प्रवाह भयो । सो रकम प्रभु बैंकमा १२ करोड ५१ लाख ७५ हजार रकम रकमान्तर भएको थियो ।

यो केस केहि पुरानो हो । तर कुमारी बैंकका सेयरधनीले थाहा पाएपछि यो केसलाई छानविनका लागि भन्दै २०८१ सालमा राष्ट्र बैंकमा निवेदन परेको थियो । बैंकिङ संसारको सम्पर्कमा आएका ती निवेदनकर्ताले सो निवेदनउपर कुनै पनि छानविन नभएको गुनासो गरेका छन् ।

तत्कालीन अवस्थामा सो भ्यालुएसन गर्ने भ्यालुएटर र हाल कुमारी बैंकको ४८ करोड घोटालाको केसमा ऋणी एशियन भिलेज रिसोर्टको भ्यालुएसन गर्ने भ्यालुएटर उही अर्थात सिग्मा भ्यालुएटर रहेको दाबी निवेदनकर्ताको छ । अझ तत्कालीन एनसीसी बैंकमा यो केसको मिलेमतोको आरोप लागेका रमेश राज अर्याल अहिले प्रभु बैंकमा संचालक छन् । यसरी हेर्दा रमेश राज अर्याल संचालक पदमै रहेर कतै आफु पनि फस्ने डरले प्रभु बैंकको ४८ करोडको केसलाई साथ त दिँदै छैनन् भन्ने शंका निवेदनकर्ताको छ । उनले यो विषय प्रभु बैंकको साधारण सभामा उठाउन खोज्दा आफुलाई बोल्न नै नदिएकोसमेत दाबी गरेका छन् ।

यता रमेश राज अर्याल भने यस विषयमा सम्पर्क गर्न खोज्दा सम्पर्कमै आएनन् भने राष्ट्र बैंक स्रोतले भने आफुहरुले सो घटना नोटिसमा लिएको र पछिल्लो अपडेट बुझ्नुपर्ने बताएको छ । यद्यपी ओभरभ्यालुएसनको केस धेरै भएको र किनेकी भोलिपल्ट ओभरभ्यालुएसन गरेका केसहरु बारे नियामक गम्भीर भएको तर्क राष्ट्र बैंकको छ ।

रमेश राज अर्याल तिनै बैंकर हुन्, जसले तत्कालीन कुमारी बैंक छाड्दा गैरकानुनी रुपमा करोडौं तलव बढी लिएको भन्दै राष्ट्र बैंकले सो तलव फिर्ता गर्न निर्देशन दिएको थियो भने गैरकानुनी रुपमा तत्कालीन सिटिजन्स बैंकको संचालक बसेको भन्दै राष्ट्र बैंकले नै सो पद छाड्न निर्देशन दिएको थियो । रमेश राज अर्याल नै सीइओ हुँदा बैंकमा खाता खोल्दा भरिएका फारमहरु मकै पोल्ने ठाउँमा समेत भेटिएको थियो । अर्याल सीइओ हुँदा भएका झमेला, लफडा, ओभरभ्यालुएसन लगायतका केसले अहिले पनि कुमारीको करोडौँ फसेको कुमारी बैंकका उच्च अधिकारीहरुले बताउँदै आएका छन् ।

प्रभु बैंकले एक रिसोर्टलाई यस्तै ओभरभ्यालुएसन् गरी ४८ करोड ऋण दिएको प्रकरणमा अहिले बैंककी तत्कालीन चिफ बिजनेश अफिसर रश्मी पन्तसहित सो रिसोर्टका अधिकारीहरु प्रहरी हिरासतमा छन् ।

बैंकिङ संसारलाई स्वेक्षिक सहयोग अभियान

बैंकिङ संसारलाई स्वेक्षिक सहयोग अभियान

पाठक हाम्रा भगवान् हुन् । भगवानसँग सहयोगको विनम्र अनुरोध गर्न नमिल्ने कुरै भएन । त्यसैले हामी हाम्रा भगवानरुपी पाठकलाई हामीलाई स्वेक्षिक सहयोग गर्न अनुरोध गर्दछौँ । बैंकिङ संसार डटकममा प्रकाशित हुने प्रिमियम स्टोरी निर्माणमा सहयोग गर्न चाहानुहुन्छ भने तपाईंहरु पनि 'स्वेक्षिक सहयोग अभियान'मा सहभागी हुन सक्नुहुनेछ । सो रकमलाई हामी बैंकिङ क्षेत्रका प्रिमियम स्टोरीहरु तयार गर्न प्रयोग गर्नेछौँ ।