काठमाडौं । नेपाल राष्ट्र बैंकले सम्पत्ति शुद्धीकरण (Money Laundering Prevention) सम्बन्धी नियामकीय व्यवस्था उल्लङ्घन गरेको ठहर गर्दै लुम्बिनी विकास बैंक लिमिटेड र एक्सेल डेभलपमेन्ट बैंक लिमिटेड माथि कारबाही गरेको छ।
बैंक सुपरिवेक्षण विभागले सार्वजनिक गरेको आर्थिक वर्ष २०८०/८१ को तेस्रो त्रैमासिक सुपरिवेक्षण प्रतिवेदनअनुसार दुवै बैंकले सम्पत्ति शुद्धीकरण निवारणसम्बन्धी एकीकृत निर्देशनको प्रभावकारी कार्यान्वयन गर्न नसकेको पाइएको हो।
राष्ट्र बैंकका अनुसार लुम्बिनी विकास बैंक ले इजाजतपत्रप्राप्त ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थाका लागि जारी एकीकृत निर्देशन, २०८० अन्तर्गत ग्राहक पहिचान (Customer Due Diligence) सम्बन्धी व्यवस्था पूर्ण रूपमा पालना गरेको पाइएन। साथै, ग्राहकको वास्तविक लाभग्राही (Beneficial Owner) को पहिचान गर्ने प्रणालीसमेत प्रभावकारी रूपमा कार्यान्वयन नगरेको राष्ट्र बैंकको निष्कर्ष छ।
यस्तै, एक्सेल डेभलपमेन्ट बैंक ले पनि सोही निर्देशनको ग्राहक पहिचान तथा जोखिम व्यवस्थापनसम्बन्धी प्रावधानको पूर्ण पालना नगरेको प्रतिवेदनमा उल्लेख गरिएको छ। निरीक्षणका क्रममा निर्देशनको बुँदा २(४) र २(५) बमोजिमका व्यवस्था कार्यान्वयनमा कमजोरी भेटिएको राष्ट्र बैंकले जनाएको छ।
यी कमजोरीका आधारमा नेपाल राष्ट्र बैंकले दुवै बैंकलाई नेपाल राष्ट्र बैंक ऐन, २०५८ तथा बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ बमोजिम सचेत गराएको छ।
राष्ट्र बैंकले बैंकहरूलाई सम्पत्ति शुद्धीकरण तथा आतंकवादी क्रियाकलापमा वित्तीय लगानी निवारणसम्बन्धी कानुनी तथा नियामकीय व्यवस्था प्रभावकारी रूपमा कार्यान्वयन गर्न निर्देशनसमेत दिएको छ।


