काठमाडौं । नेपाल राष्ट्र बैंकले नियामकीय व्यवस्था उल्लङ्घन गरेको ठहर गर्दै प्राइम कमर्सियल बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत (सीईओ) लाई नसिहत गरेको छ। साथै, बैंकको सञ्चालक समितिलाई पनि सचेत गराएको छ।
बैंक सुपरिवेक्षण विभागले सार्वजनिक गरेको आर्थिक वर्ष २०८०-८१ को तेस्रो त्रैमासिक सुपरिवेक्षण प्रतिवेदनअनुसार बैंकले कर्जा जोखिम वर्गीकरण, जोखिम भार निर्धारण तथा पूँजी पर्याप्ततासम्बन्धी व्यवस्था पालना नगरेको पाइएपछि उक्त कारबाही गरिएको हो।
राष्ट्र बैंकका अनुसार बैंकले एकीकृत निर्देशन, २०८१ तथा इ.प्रा. निर्देशन नं. २-०८१ बमोजिम कर्जा जोखिमको वर्गीकरण नगरेको तथा कर्जाको जोखिम भार (Risk Weight) कायम गर्ने व्यवस्था पालना नगरेको पाइएको छ।
यस्तै, Capital Adequacy Framework 2015 अनुसार जोखिम भारित सम्पत्ति (Risk Weighted Assets) गणना गर्दा वास्तविकभन्दा कम जोखिम भार गणना गरेको राष्ट्र बैंकले जनाएको छ। आर्थिक वर्ष २०८१ को चैत महिनाको सुपरिवेक्षणपछि जोखिम वर्गीकरण सुधार गर्न दिइएको निर्देशनसमेत बैंकले पालना नगरेको प्रतिवेदनमा उल्लेख छ।
यी कमजोरीका आधारमा नेपाल राष्ट्र बैंकले नेपाल राष्ट्र बैंक ऐन, २०५८ को दफा १०० को उपदफा (२) को खण्ड (क) बमोजिम बैंकका प्रमुख कार्यकारी अधिकृतलाई नसिहत गरेको हो।
त्यस्तै, प्रचलित कानुन, बैंकको नीति, निर्देशन तथा नियामकीय व्यवस्थाको पालना भए-नभएको विषयमा पर्याप्त अनुगमन गर्न नसकेको ठहर गर्दै बैंकको सञ्चालक समितिलाई पनि राष्ट्र बैंकले सचेत गराएको छ। सूचनासहित:



