काठमाडौँ। सिद्धार्थ बैंकले ऋणीसँग घुस वापत पैसा लिने, र ग्राहकसँग गैरकानुनी रुपमा अनुचित कारोबार गर्ने २ कर्मचारीलाई कारवाही गरेको छ । ऋणीको खाताबाट बैंकका कर्मचारी र कर्मचारीका आफन्तकहाँ पैसा गएको प्रमाणित भएपछी सिद्धार्थ बैंकले दुई जनालाई कारवाही गरेको पाइएको हो ।
पछिल्लो समय सिद्धार्थ बैंकका कर्मचारीले ऋणीसँग घुस खाएको प्रकरण सतहमा आएको थियो ।
बैंकले आफ्ना कर्मचारीहरुले ऋणीसँग अनुचित ढंगले कारोबार गरेको स्वीकार गरेको छ । गैरकानुनी रुपमा ऋणीको रकम बैंक कर्मचारीको खातामा पुगेको स्वीकार्दै बैंकले त्यस्ता कर्मचारीलाई कारवाही गरिएको जानकारी राष्ट्र बैंकमा दिएको छ ।
सिद्धार्थ बैंकले नक्कली नेपाली नागरिकताका भरमा भारतीय नागरिकलाईसमेत ऋण दिने गरेको खुलासा भएको छ । भारतीय नागरिकलाई दिएको ऋणका बारेमा विवाद निस्किएपछि बैंकको यस्तो बदमासी बाहिर आएको हो ।
यसैबीच, सिद्धार्थ बैंकले ठगेको आरोप लगाउँदै पत्रकार सम्मेलन गरेका डीपी ओलीले बैंकका केही कर्मचारीले मसान्तमा ग्राहकका किस्ता आफ्नै पहलमा तिरिदिने र त्यसको बदलामा व्यक्तिगत रूपमा चर्को ब्याज असुल्ने गरेको आरोप समेत लगाएका छन्।
यी आरोपहरू सार्वजनिक भएपछि बैंकको आन्तरिक नियन्त्रण प्रणाली, कर्मचारीको आचरण तथा ऋण व्यवस्थापन प्रक्रियामाथि थप प्रश्न उठेका छन्।


