‘हिजोसम्म ब्यालेन्स थियो, आज त्यतिकै सकियो । एनसेलमा यस्तो के भयो ?’एनसेलमा ब्यालेन्स थियो, एनसेलले त्यतिकै ब्यालेन्स काटिदियो, एनसेलले मलाई ठग्यो’
‘हिजो मात्र रिचार्ज गरेको, आज ब्यालेन्स नै छैन, एनसेलले त ठग्दो रहेछ ।’
‘एनसेलले सुटुक्क मेरो ब्यालेन्स घटाईदिईरहेको छ, यो एनसेलले त ठगी गर्दो रहेछ’
यस्ता चर्चा र गुनासाहरु तपाईंले सामाजिक संजालमा धेरै सुन्नु भएको छ होला । गुनासाहरुमा कतिपयले एनसेलजस्तो कर्पोरेट कम्पनीले यस्तो ठगी गर्दैन होला भनेर कमेन्ट गर्नुभएको पनि पक्कै देख्नुभएको छ होला । तर होइन, एनसेलले यसरी आफैँ पैसा काटेर ग्राहक ठग्ने विषय अव आरोप होइन, सत्य प्रमाणित भएको छ । एनसेलको बदमासी छानविन गर्न तत्कालीन प्रचण्ड सरकारले टंकमणि शर्मा दंगालको नेतृत्वमा गठन गरेको ५ सदसीय टोलीले एनसेलको ठगीको फेहरिस्तको खुलासा गरेको छ । र, ग्राहकको रकम सुटुक्क काटेर एनसेलले १ अर्व बढी ठगी गरेको प्रमाणित भएपछि नियामक नेपाल दूरसञ्चार प्राधिकरणले एनसेललाई कारवाही गरेको, सो रकम ब्याजसहित ग्राहकलाई फिर्ता गर्न भनेकोसमेत पाइएको छ । यसले एनसेलले कसरीसम्म ग्राहक ठग्ने रहेछ भन्ने तथ्यको उजागर त गरेको छ नै, एनसेल आफ्ना ग्राहकलाई कतिसम्म वेवकुफ सोच्दो रहेछ र एनसेल कर्पोरेट हाउसको आवरणमा कसरीसमेत ग्राहक ठग्दो रहेछ भन्ने तथ्यको खुलासा भएको छ ।
ग्राहक ठगी गरेको पुष्टी भएपछि एनसेललाई कारवाही, ठगेको रकम ब्याजसहित फिर्ता गर्न निर्देशन !
नेपाल दूरसञ्चार प्राधिकरणको निर्णय नं. ४३४३ बाट एनसेललाई कारवाही भएको देखिन्छ । प्राधिकरणको निर्देशन र प्राधिकरणबाट जारी कार्यविधिमा उल्लेखित व्यवस्था विपरित ग्राहकको पूर्व स्वीकृतिविना नै Auto Renew गरेको देखिँएको भन्दै एनसेलले दूरसञ्चार ऐन, २०५३ को दफा ४७ (१) बमोजिमको कसुर गरेको स्थापित भएको प्राधिकरणको निष्कर्ष छ । प्राधिकरणको सोहि निष्कर्षसहित दूरसञ्चार ऐन, २०५३ ले दिएको अधिकार प्रयोग गरी एनसेललाई प्राधिकरणले कारवाही गरेको देखिन्छ ।

कारवाही विवरणमा प्राधिकरणले एनसेलले ठगेको ग्राहकबाट गैरकानुनी रुपमा असुल गरी ठगेको रकम कुल १ अर्ब ११ करोड १२ लाख ६७ हजार ६ सय ५१ रुपैयाँ १० पैसा, र त्यसको ब्याजसहित ग्राहकलाई ३ महिनाभित्र फिर्ता गर्न प्रष्ट निर्देशन दिएको छ । यसरी फिर्ता गरिएको रकमको विस्तृत विवरण मासिकरूपमा प्राधिकरणलाई उपलब्ध गराउनसमेत प्राधिकरणले निर्देशन दिएको छ । ग्राहकलाई पैसा फिर्ता गर्ने मात्र होइन, ग्राहकहरूलाई Daily Renewal, 3-Days Renewal, Weekly Renewal तथा Monthly Renewal का Pack Type हरूको रकम फिर्ता लिन आउन उपयुक्त सञ्चारका माध्यमहरूबाट जानकारी गराउन र यसरी रकम फिर्ता गर्दा कुनै ग्राहकको सेवा बन्द भई वा अन्य कुनै कारणले ग्राहकको पहिचान हुन नसकेको अवस्थामा फिर्ता गर्नुपर्ने रकमलाई छुट्टै कोष खडा गरी सो कोषमा उक्त रकम जम्मा गरी प्राधिकरणलाई समेत सोको जानकारी गराउनसमेत प्राधिकरणले निर्देशन दिएको छ । यस्तो बदमासी गरेवापत एनसेललाई दूरसञ्चार ऐन, २०५३ को दफा ४७ को उपदफा (१) को व्यवस्था अनुसार ५० हजार रुपैयाँ जरिवाना तोक्ने निर्णय पनि प्राधिकरणले गरेको छ ।
साथै प्राधिकरणले यस्तो ठगी गरेर एनसेलले कति रकम असुल गर्यो भन्ने विवरणसमेत मागेको छ । कि रकम काट्ने भए सहमति लेउ, होइन भने यस्ता सेवा बन्द गरी त्यसको जानकारी देउ, र यो सेवा लिईसकेका ग्राहकको रकम उनीहरुको मोबाइल नम्बरमा फिर्ता देऊ भनी प्राधिकरणले एनसेललाई गरेको कारवाही विवरणमै प्रष्ट उल्लेख गरेकोसमेत पाइएको छ ।

प्राधिकरणले एनसेलले विभिन्न VAS सेवाहरू तथा Voice/Data Package/Plan लगायतका सेवा सञ्चालन गर्दा Subscription Page, SMS Notification Message, Ncell Mobile App CDR, Billing System मा फरक फरक शब्दावलीहरू प्रयोग गरेर ग्राहक झुक्याएको देखेपछि त्यसो नगर्न र उपभोक्ताले पनि बुझ्ने शब्दावलीको प्रयोग गर्न र ग्राहकले चाहेको बखत सजिलै Service Deactivate गर्न सक्ने व्यवस्था गर्नसमेत एनसेललाई निर्देशन दिएको थियो । कुन कुन Value Added सेवाहरू ग्राहकले Subscribe गरेको छ, कति दररेटको शुल्क लागिरहेको छ, सो विषयहरू हेर्नै नमिल्ने बनाएको एनसेललाई प्राधिकरणले सो विवरणहरु सजिलै हेर्न सक्ने गरी Ncell Mobile App मा जानकारीहरू उपलब्ध गराउनसमेत निर्देशन दिएको पाइएको छ ।

