काठमाडौँ। ग्लोबल आईएमई बैंकले सरकारी जग्गा अतिक्रमण गरेको खुलासा भएको छ । त्रिभुवन विश्वविद्यालयले १७ वटा संघसंस्थालाई ३५ दिनभित्र जग्गा खाली गर्न पत्र काटेको सूचीमा ग्लोबल आईएमई बैंक समेत परेको पाइएको हो ।
यो प्रकरणले नेपाली बैंकिङ क्षेत्रकै नाम खराब गरेको भन्दै ग्लोबल आईएमई बैंकको चौतर्फी आलोचना सुरु भएको छ।
त्रिभुवन विश्वविद्यालयले आफ्नो स्वामित्वमा रहेको जग्गा अतिक्रमण गरिएको भन्दै १७ वटा संघसंस्थालाई ३५ दिनभित्र जग्गा खाली गर्न निर्देशन दिएपछि नेपाली बैंकिङ क्षेत्रसमेत विवादको घेरामा परेको छ।
उक्त सूचीमा देशकै ठूला वाणिज्य बैंकमध्ये एक ग्लोबल आईएमई बैंक पनि परेपछि प्रकरणले थप चर्चा र आलोचना निम्त्याएको हो।
विश्वविद्यालय स्रोतका अनुसार वर्षौंदेखि विभिन्न संघसंस्थाले त्रिविको जग्गा प्रयोग गर्दै आएका थिए। तर अधिकांशले कानुनी प्रक्रिया पूरा नगरेको वा सम्झौता अवधि समाप्त भइसकेपछि पनि प्रयोग जारी राखेको पाइएको छ।
यही पृष्ठभूमिमा विश्वविद्यालय प्रशासनले औपचारिक रूपमा ३५ दिने अल्टिमेटमसहित पत्र पठाएको हो।
सामान्यतया उच्च नियमन र पारदर्शितामा सञ्चालन हुनुपर्ने बैंकिङ संस्थाको नाम नै अतिक्रमण प्रकरणमा जोडिएपछि यसले आम जनतामा नकारात्मक सन्देश गएको छ। ग्लोबल आईएमई बैंक जस्तो प्रतिष्ठित बैंक सूचीमा परेपछि ‘संस्थागत नैतिकता’ र ‘कर्पोरेट जिम्मेवारी’ माथि प्रश्न नै उठेको छ।


