काठमाडौँ। राष्ट्रिय वाणिज्य बैंकका सिइओ देवेन्द्र रमण खनाल पुन: विवादमा तानिएका छन् ।
आफ्नै साढुदाईले बैंकको अडिट गरेको प्रकरणमा अडिटर प्रकाश लम्साल र देवेन्द्र रमण खनाललाई कोड अफ इथिक्स विपरित काम गरेको कसुरमा कारवाही गर्न उजुरी परेको नियामक निकाय आइक्यानलाई कार्यक्रमका नाममा चन्दा दिएर कारवाहीबाट जोगिन खोजेको भन्दै खनाल विवादमा तानिएका हुन् ।
राष्ट्रिय वाणिज्य बैंकका अडिटर र सिइओ दुबैलाई कारवाहीका लागि परेको उजुरी प्रक्रिया अगाडी बढाउनुपर्नेमा उल्टै बैंककै मुख्य प्रायोजनमा कार्यक्रम गरेको भन्दै आइक्यानसमेत विवादमा तानिएको हो ।
राष्ट्रिय वाणिज्य बैंकको लेखापरीक्षण सिइओ देवेन्द्र रमण खनालकै आफन्तबाट भएको तथ्य बाहिर आएपछि नियमनकारी निकाय आइक्यानमा खनाल र अडिट गर्ने प्रकाश लम्साल दुबैलाई कारवाही गर्नुपर्ने माग उठेको छ ।
लेखापरीक्षण पेशाकै बदनाम गर्नेगरी काम गरेको भन्दै उनीहरुलाई कारवाही गर्नुपर्ने माग उठेको हो ।
यता आइक्यानका कार्यकारी निर्देशक नै बैंकका पूर्व कर्मचारी भएकाले कारवाही हुने सम्भावना भने कम देखिएको आइक्यानका कर्मचारीहरुले जनाएका छन् ।


