काठमाडौँ। नेपाल राष्ट्र बैंकले बैंकहरुको मुद्दती निक्षेपमा लगानी गर्ने भएको छ। राष्ट्र बैंकले एक सूचना जारी गर्दै बैंकहरुको मुद्दती निक्षेपमा साढे ५ अर्ब रुपैयाँ बढी लगानी गर्ने जनाएको हो।
राष्ट्र बैंकले आफ्नो उपदान तथा पेन्सन कोषमा रहेको ५ अर्ब ५५ करोड रुपैयाँ बैंकहरुको मुद्दती निक्षेपमा लगानी गर्न लागिएको हो। जसका लागि पुस १७ गते साँझ ७ बजेसम्म ब्याजदर प्रस्ताव गर्न राष्ट्र बैंकले आह्वान गरेको छ।
राष्ट्र बैंकले वाणिज्य बैंकमा ४ अर्ब ४४ करोड रुपैयाँ, राष्ट्रियस्तरका विकास बैंकमा ८३ करोड २५ लाख रुपैयाँ र राष्ट्रियस्तरका वित्त कम्पनीमा २७ करोड ७५ लाख रुपैयाँ मुद्दती निक्षेपका रुपमा लगानी गर्न लागेको हो।
उक्त लगानी सन् २०२६ जनवरी ५ देखि २०२७ जनवरी ५ सम्म ३६६ दिनका लागि हुने केन्द्रीय बैंकले जनाएको छ।


