काठमाडौँ । बंगलादेशको ग्रामीण बैंकमाथि आक्रमण भएको छ। बंगलादेशमा नोभेम्बरको सुरुवातदेखि ग्रामीण बैंकका झण्डै १०० शाखामा पेट्रोल बम आक्रमण भएको आरोप लगाइएको छ।
पूर्वअन्तरिम सरकारका प्रमुख सल्लाहकार प्राध्यापक मुहम्मद युनुसले सोमबार विज्ञप्ति जारी गर्दै बैंकका शाखामाथि लगभग दैनिक आक्रमण भइरहेको बताएका छन्।युनुसका अनुसार आक्रमणका क्रममा कर्मचारी तथा ऋणीहरू मुस्किलले ज्यान जोगाउन सफल भएका छन्। आक्रमणकारीले ‘जय बाङ्ला’ नारा लगाउँएका थिए।
उनले आक्रमण तत्काल रोक्न र दोषीलाई कारबाही गर्न सरकारसँग माग गरेका छन्। ग्रामीण बैंकका एक करोड १० लाख ऋणीमध्ये ९७ प्रतिशत महिला रहेको उल्लेख गर्दै युनुसले यस्ता घटनाले लाखौँ महिलाको आर्थिक सुरक्षा र जीविकोपार्जनमा असर पार्ने चेतावनी दिएका छन्।
ग्रामीण बैंकले कर्मचारी, ऋणी र महत्त्वपूर्ण कागजातको सुरक्षाका लागि गृह मन्त्रालयसँग थप सुरक्षा माग गरेको छ।



