काठमाडौँ । नेशनल लाइफ इन्स्योरेन्समा केहि खराब बीमा अभिकर्ताहरुले मिस सेललाई ह्वात्तै बढाएपछि राम्रा अभिकर्ताहरु मर्कामा परेका छन् । कम्पनीमा पछिल्लो समय मिस सेल बढेको भन्दै बीमा प्राधिकरणमा उजुरीहरु बढेका बेला, त्यसको सिधा असर प्रोडक्ट सेलिङ र नवीकरणमा पर्दा राम्रा अभिकर्ताहरु मर्कामा परेका हुन् ।
प्रोडक्टका विषयमा गलत बुझाएर पोलिसी बेचेको, बोनस दरको अपव्याख्या गरेको लगायतका काम भएको भन्दै कम्पनीले गरिरहेको मिससेलको चौतर्फी चर्चा चुलिएपछि राम्रो गरिरहेका अभिकर्ताहरुले नै त्यस्ता गलत काम गर्नेहरुलाई कारवाही गर्नुपर्ने माग अगाडी सारेका छन् । मिस सेलका कारण बढ्यो सरेण्डर ! आफुमाथि मिस सेल भएको र अभिकर्ताले भने अनुसार आफ्नो प्रोडक्ट नभएको पाइएपछि नेशनल लाइफबाट पोलिसी किनेकाहरुले धमाधम पोलिसी सरेण्डर गरिरहेका छन् ।
यसलाई कम्पनीले निकै चासोका रुपमा लिए पनि कम्पनीले यस्तो गलत काम गर्ने अभिकर्तालाई कारवाही भने गर्न सकेको छैन । मिस सेल गरेरै भए पनि बिजनेश दिएको भन्दै त्यस्ता अभिकर्तालाई कारवाही नगर्दा राम्रो काम गरिरहेका नेशनल लाइफका अभिकर्ताहरु पनि मारमा परेका छन् । उनीहरु स्वयमले पनि गलत गर्ने अभिकर्तालाई कम्पनी र बीमा प्राधिकरणले जोगाउन नहुने बताईरहेका छन् ।
तर, सीइओ नै त्यस्ता अभिकर्ताको बचाउमा लाग्दा कम्पनीमा त्यस्ता अभिकर्ताका बदमासी बढेको बढ्यै छन् । ‘यसै पनि कम्पनी कारवाहीमा परेको खबरले पोलिसी बेच्न गाह्रो भईरहेको छ । त्यसमाथि केहि गलत पात्रले गरेको मिससेलका कारण कम्पनी नै बदनाम भईरहेको छ ।’ नेशनल लाइफ इन्स्योरेन्सका एक अभिकर्ताले भने, ‘गलत गर्नेलाई कारवाही नगर्दा राम्राहरु पनि अफ्ट्यारोमा पार्यौं ।’ ती अभिकर्ताले केहि खराब अभिकर्ताले हदैसम्म मिससेल गरेको तथ्य भने स्वीकारेका छन् । ‘अहिले अत्याधिक सरेन्डर बढ्नुको मुख्य कारण नै मिससेल भएका पोलिसी हुन् । यसलाई अन्त्य नगरे कम्पनीले ठुलो क्षति व्यहोर्नुपर्ने हुनसक्छ ।’ यो पनि हेर्नुहोस्:
नेशनल लाइफ इन्स्योरेन्स बीमा प्राधिकरणको कारवाहीमा, कम्पनीले स्वीकार्यो गल्ती !



