DISH HOME

Banking Sansar Exclusive: एनआईसी एशिया बैंकले घुमाउरो पाराले यसरी उठाईरहेछ १८ प्रतिशतसम्म ब्याज, सिइओकै मिलेमतो !

काठमाडौँ । एनआईसी एशिया बैंकले मनपरी रुपमा ब्याज लिन्छ, एनआईसी एशिया बैंकले ऋणीलाई ठग्छ, यस्ता कुरा सुनिएकै हुन् । एनआईसी एशिया बैंकले ऋणीबाट बढी ब्याज लिएको प्रमाणित भएपछि नियामक नेपाल राष्ट्र बैंकले बैंकलाई कारवाहीसमेत गरेको छ, र सो ब्याज फिर्ता गर्नसमेत निर्देशन दिईसकेको छ । तर, १८ प्रतिशतसम्म ब्याज, वा बढी ब्याज कसरी लिएको छ बैंकले ? बैंकिङ संसार डटकमले यस विषयमा विशेष तथ्य र गोप्य प्रमाण फेला पारेको छ ।
सुरुमा बुझौँ एनआईसी एशियाले यसरी १८ प्रतिशतसम्म ब्याज कसरी लिन्छ ?
बैंकिङ संसार डटकमलाई बैंकको इन्टरल अडिट विभागबाट प्राप्त एउटा गोप्य विवरणले भन्छ – बैंकले ऋण तिर्न नसकेकाहरुलाई किस्ता तिर्न क्रेडीट कार्डमार्फत क्रेडिट लिमिट दिने गरेको छ । क्रेडिट कार्ड प्रयोग मार्फत बैंकले ऋणीले तिर्न नसकेको ऋणको किस्ता उठाएको छ, र ऋणीलाई आफ्नो ऋणको ब्याजसँगै क्रेडिट कार्ड प्रयोग गरी गरिएको भुक्तानीको महँगो ब्याजसमेत उठाईरहेको छ । अर्थात, ऋण उठाउन क्रेडिट कार्डको विकल्प दिने, सो कार्डबाट बैंककै किस्ताको भुक्तानी तान्ने र ऋणीलाई दोहोरो ब्याजको मारमा पार्ने ।
क्रेडिट कार्डको ब्याज यसै पनि महँगो पर्छ । किस्ता तिर्न प्रयोग भएको सो रकम दायित्वकै रुपमा बैंकमा रहन्छ, र यसको ब्याज पनि महँगो पर्छ । केहि समयका लागि त ठिकै हो, तर लामो समय ऋण तिर्न नसक्दा ढाड नै सकिने गरी बैंकको ऋण, र ब्याज थपिन्छ । क्रेडिट कार्डमार्फत तिरेको किस्ताको भुक्तानी र साबिकको ऋणको हिसाब गर्दा ऋणीलाई १८ प्रतिशतसम्म ब्याजभार परेको देखिएको छ ।
बैंकिङ संसार डटकमलाई प्राप्त बैंकको आन्तरिक विवरण अनुसार यसरी ऋणको किस्ता तिर्नकै लागि क्रेडिट कार्ड भुक्तान गर्नेको संख्या सयौंमा होइन, हजारौंमा छ । यसको जानकारी बैंकको इन्टरनल अडिट विभागले बैंकका सीइओलाईसमेत बुझाईसकेको छ । बैंकका हालका सीइओ सन्तोष राठीको प्रत्यक्ष मिलेमतोमा यस्तो गलत काम भएको छ ।
प्रचलित व्यवस्थाले यस्तो कामलाई गैरकानुनी भन्छ । बैंकले ऋणको किस्ता तिर्नकै लागि थप ऋण प्रवाह गर्न पाउँदैन । क्रेडिट कार्डको प्रयोग पनि बैंकको ऋण तिर्नलाई गर्न पाइन्न । तर गलत नियत राखेर बैंकले गरेको यस्तो गलत कामका कारण ऋणीहरु थप ऋणको भारमा परेका छन् भने बैंकले खराब कर्जा भईसकेका थुप्रै फाइललाई गुड लोन बनाएर सेयरधनी, नियामक नेपाल राष्ट्र बैंक लगायतका स्टेकहोल्डरहरुलाई गुमराहमा राखेको प्रष्ट देखिन्छ ।
बैंक यस विषयमा बोल्न नै चाहादैन । यस विषयमा बुझ्न हामीले बैंकका कामु सीइओ सन्तोष राठी र बैंकका सूचना अधिकारी अर्जुन खनियाँलाई सम्पर्क गरेका थियौँ । तर दुबैले कलको रेस्पोन्स नै गरेनन् ।

Shangrila Dev Bank
Citizen Life Insurance
Himalayan life insurance

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै