काठमाडौँ। नक्कली नेपाली नोटसहित दुई जना पक्राउ परेका छन्। कोशी गाउँपालिका ८ स्थित भीमनगर सीमावर्ती क्षेत्रबाट प्रहरीले नक्कली नेपाली नोटसहित दुई जनालाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा सप्तरीको हनुमाननगर कङ्कालिनी नगरपालिका २ का २६ वर्षीय राजेशकुमार रजक र सोही नगरपालिका १ का २५ वर्षीय राजेश चमार रजक रहेका छन् ।
मोटरसाइकलको पछाडि सवार राजेश चमार रजकको साथबाट नेपाली एक हजार दरका ३८ थान नक्कली नोट जम्मा रु ३८ हजार फेला परेको हो ।
बरामद नक्कली नोट र प्रयोग गरिएको मोटरसाइकलसहित दुवै जनालाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।