prabhu

वित्तीय प्रणालीको सन्तुलनमा राष्ट्र बैंकको २१३ खर्बको हस्तक्षेप

काठमाडौं । चालु आर्थिक वर्षको ११ महिनामा नेपाल राष्ट्र बैंकले कूल २१३ खर्ब ४३ अर्ब ५० करोड रुपैयाँ बराबरको तरलता बजारबाट फिर्ता लिएको छ। बैंक तथा वित्तीय संस्थाहरूले अपेक्षित मात्रामा कर्जा प्रवाह गर्न नसकेपछि राष्ट्र बैंकले मौद्रिक व्यवस्थापन अन्तर्गत पटक-पटक तरलता सोस्ने कदम चालेको हो।

राष्ट्र बैंकको तथ्यांकअनुसार, सो अवधिमा २७ खर्ब ८४ अर्ब ८० करोड रुपैयाँ बोलकबोल विधिबाट र १८५ खर्ब ५८ अर्ब ७० करोड रुपैयाँ स्थायी निक्षेप सुविधामार्फत प्रशोचित गरिएको हो। यसरी दुई माध्यमबाट गरी कुल २१३ खर्ब रुपैयाँभन्दा बढी रकम प्रणालीबाट सोसिएको हो ।

गत वर्षको सोही अवधिमा राष्ट्र बैंकले १९० खर्ब ८४ करोड रुपैयाँ बराबरको तरलता प्रशोचन गरेको थियो। त्यसबेला २ अर्ब ७० करोड रुपैयाँ ओभरनाइट सुविधा प्रयोगमा आएको थियो ।

विदेशी विनिमय कारोबारतर्फ, राष्ट्र बैंकले ५ अर्ब १ करोड अमेरिकी डलर खरिद गरेर ६ खर्ब ७३ अर्ब २५ करोड रुपैयाँ बराबरको तरलता प्रणालीमा प्रवाह गरेको छ। अघिल्लो वर्ष ५ अर्ब ३३ करोड डलर खरिदबाट ७ खर्ब ८ अर्ब ८७ करोड रुपैयाँ बराबरको तरलता प्रवाह गरिएको थियो।

त्यस्तै, ३ अर्ब ४६ करोड अमेरिकी डलर बिक्री गरेर राष्ट्र बैंकले ४ खर्ब ७१ अर्ब ३९ करोड रुपैयाँ बराबरको भारतीय रुपैयाँ खरिद गरेको छ। अघिल्लो वर्ष यो कारोबार अझै बढी थियो-३ अर्ब ६४ करोड डलर बिक्री गरी ४ खर्ब ८४ अर्ब ४४ करोड रुपैयाँ बराबरको भारतीय रुपैयाँ खरिद गरिएको थियो।

अन्तर-बैंक कारोबारको हिसाबले चालु वर्षको ११ महिनामा वाणिज्य बैंकहरूले १५ खर्ब ३१ अर्ब २१ करोड र अन्य वित्तीय संस्थाहरूले १ खर्ब ५० अर्ब ३३ करोड रुपैयाँ बराबरको कारोबार गरेका छन्। यसरी कुल १६ खर्ब ८१ अर्ब ५४ करोड रुपैयाँको कारोबार भएको हो । तरलताको सन्तुलन कायम राख्न र वित्तीय प्रणालीमा स्थायित्व सुनिश्चित गर्न राष्ट्र बैंकको सक्रियता निरन्तर रहने देखिएको छ।

Shangrila Dev Bank
Citizen Life Insurance
Himalayan life insurance

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै