PRABHU BANK

ग्लोबल आइएमई बैंकका शाखामा त्राहिमाम छन् कर्मचारी, ‘हालखबरसमेत सोध्दैनन् सिइओ !’

काठमाडौँ । पाथिभरा क्षेत्रमा केबलकार बनाउने विषयमा विवाद बढेर स्थानीयले बैंकविरुद्धको अभियान नै चलाएपछि ग्लोबल आइएमई बैंकका विभिन्न शाखाका कर्मचारी त्रासमा काम गर्न बाध्य छन् ।

पछिल्लो केही हप्तादेखि केबलकार निर्माणको विरुद्धमा आन्दोलन गरिरहेका स्थानीयले चन्द्र ढकाल अध्यक्ष रहेको ग्लोबल आइएमई बैंकलाई टार्गेट गरेपछि बैंकका कर्मचारीमा त्राहिमाम बनेका हुन् ।

केही दिनअघि हुल बाँधेर नाराबाजी गर्दै बैंक छिरेका आन्दोलनरत पक्षले बैंकमा तोडफोडको प्रयाससमेत गरेका थिए । तर, बैंकमा उनीहरुले कुनै पनि क्षति भने नगरेको प्रहरीले जनाएको छ । त्यसपश्चात् आन्दोलनरत पक्षले ग्लोबल आइएमई बैंकबाट खाता बन्द गर्न र निक्षेप निकाल्ने आह्वान गर्दै अभियान नै चालएपछि त्रास झन् बढेको बैंकका एक कर्मचारीले बताएका छन् ।

‘केबलकारको विवाद बैंकसम्म पुगेपछि हामीलाई काम गर्न असहज भएको छ । यसै पनि आन्दोलनकारीको टार्गेटमा बैंक छ ।’, बैंकका एक कर्मचारीले भने, ‘यस्तो अवस्थामा शाखाको कार्य सम्पादनमा समस्या भएको छ । कतिबेला आन्दोलनकारी आएर केही गर्छन् कि भन्ने त्रास छ ।’

तर, अवस्था यो हदसम्म पुग्दा पनि बैंकका प्रमुख कार्यकारी अधिकृत सुरेन्द्रराज रेग्मीले भने बैंकका कर्मचारीको हालखबरसम्म नसोधेको बैंकका कर्मचारीहरुले गुनासो गरेका छन् । ‘हामी दैनिक त्रासमा काम गर्नुपरेको छ । तर सिइओ सरले एकपटक फोन गरेर हालखबरसमेत सोध्नुभएको छैन ।’, बैंकका ती कर्मचारीले भने ।

यता उक्त विषयमा बुझ्न बैंकका प्रमुख कार्यकारी अधिकृत सुरेन्द्रराज रेग्मीलाई सम्पर्क गर्न खोजे पनि उनी भने सम्पर्कमा आएका छैनन् ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै