काठमाडौँ। माछापुच्छ्रे बैंक दुई अन्तर्राष्ट्रिय अवार्डबाट सम्मानित भएको छ। बैंकले ग्राहक सेवा, डिजिटल नवप्रवर्तन तथा जोखिम व्यवस्थापनमा उत्कृष्ट कार्यसम्पादन गरेबापत दुई वटा प्रतिष्ठित अन्तर्राष्ट्रिय अवार्ड प्राप्त गरेको हो ।
बैंकले ‘इन्फोसिस फिनाकल इनोभेसन अवार्ड २०२६’ अन्तर्गत ‘म्याक्सिमाइजिंग कस्टमर इन्गेजमेन्ट’ विधामा प्रतिष्ठित ‘प्लेटिनम अवार्ड’ पाएको छ । ग्राहकको खाता खोल्ने प्रक्रियालगायत बैंकिङ सेवालाई थप सरल, सहज र प्रभावकारी बनाउने उद्देश्यले बैंकले सञ्चालन गरेको ‘रिइन्भेन्टिङ कस्टमर अनबोर्डिङ’ पहलका लागि बैंकलाई यो सम्मान प्रदान गरिएको हो ।
इन्फोसिस फिनाकल इनोभेसन अवार्डले विश्वभरका बैंक तथा वित्तीय संस्थाहरूले प्रविधि र नवप्रवर्तनमा गरेको उत्कृष्ट कामको कदर गर्ने गर्दछ, जसमा यस वर्ष ५०० भन्दा बढी आवेदनहरूबाट माछापुच्छ्रे बैंक पुरस्कृत हुन सफल भएको हो । यसैगरी, बैंकले ‘बेस्ट पर्फर्मेन्स अन रिस्क म्यानेजमेन्ट’ विधामा थप एक अन्तर्राष्ट्रिय पुरस्कार प्राप्त गरेको छ । इन्डियन च्याम्बर अफ कमर्सद्वारा नयाँ दिल्लीमा आयोजित ‘फोर्थ इमर्जिङ एसिया बैंकिङ कन्क्लेभ एण्ड अवार्ड्स २०२६’ मा बैंकलाई उक्त सम्मान प्रदान गरिएको हो ।
बैंकले कर्जा, सञ्चालन, बजार र तरलता जोखिम व्यवस्थापनमा देखाएको सक्रियता तथा सुरक्षित र जिम्मेवार बैंकिङ अभ्यासका लागि यो अवार्ड दिइएको हो । यी दुई सम्मानले बैंकले डिजिटल रूपान्तरण र जोखिम व्यवस्थापनलाई उच्च प्राथमिकतामा राखेको स्पष्ट पारेको छ ।
माछापुच्छ्रे बैंकले पछिल्ला वर्षहरूमा निरन्तर विभिन्न प्रतिष्ठित अन्तर्राष्ट्रिय पुरस्कारहरू प्राप्त गर्दै आएको छ । यसअघि बैंकले भिसा लिडरशिप कन्क्लेभ अवार्ड (२०२३ र २०२४), इन्फोसिस फिनाकल इनोभेसन अवार्ड (२०२३ र २०२५) तथा राइजिङ स्टार इन एसेट क्वालिटी अवार्ड २०२५ जस्ता थुप्रै सम्मानहरू प्राप्त गरिसकेको छ । यस्ता अन्तर्राष्ट्रिय उपलब्धिले बैंकको बैंकिङ सेवाको गुणस्तर र व्यवस्थापकीय दक्षतालाई थप उचाइमा पुर्याएको छ।



