काठमाडौँ। यस वर्षको बडादशैँमा सर्वसाधारणले विगतका वर्षमा जस्तै नयाँ तथा सुकिला नोटलाई उत्सवका रूपमा ठूलो परिमाणमा साट्न नपाउने भएका छन्। दशैँ, तिहारलगायतका ठूला चाडपर्वमा नयाँ नोटको माग अत्यधिक बढ्ने गरे पनि यस वर्ष नयाँ नोट वितरणलाई प्राथमिकता नदिइने भएको हो।
विगतमा नेपाल राष्ट्र बैंकले दशैँअघि सर्वसाधारणका लागि नयाँ नोट सटहीको विशेष व्यवस्था गर्दै आएको थियो। दशैँमा टीका लगाउँदा दक्षिणाका रूपमा नयाँ नोट दिने प्रचलनका कारण बैंक तथा वित्तीय संस्थामा नयाँ नोट लिन सर्वसाधारणको ठूलो भीड लाग्ने गरेको थियो।
तर, नयाँ नोट छपाइ, व्यवस्थापन तथा वितरणमा हुने खर्चलाई ध्यानमा राख्दै यसपटक नयाँ नोटलाई उत्सवकै रूपमा वितरण नगर्ने नीति लिइएको हो।
नयाँ नोट सटहीका लागि प्रत्येक वर्ष दशैँअघि सर्वसाधारणको ठूलो चाप बैंकिङ प्रणालीमा पर्ने गरेको थियो। विशेषगरी साना दरका नोट ५, १०, २०, ५० र १०० रुपैयाँका नोटको माग अत्यधिक हुने गरेको छ। धेरै परिवारले बालबालिका तथा आफन्तलाई दक्षिणा दिन नयाँ नोट खोज्ने भएकाले दशैँ नजिकिँदै गर्दा बैंकका शाखाहरूमा भीड बढ्ने गरेको थियो।
तर, नयाँ नोटलाई पटकपटक साट्ने, केही समयमै चलनचल्तीमा नल्याई थन्क्याउने तथा नोटमा लेख्ने, केरमेट गर्ने र असावधानीपूर्वक प्रयोग गर्ने प्रवृत्तिले नोटको आयु छोटिने समस्या देखिएको छ। नयाँ नोटको प्रयोग बढेसँगै राष्ट्र बैंकमाथि नोट छपाइ र व्यवस्थापनको अतिरिक्त आर्थिक भारसमेत पर्ने गरेको छ।


